राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र चीनको राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जीबिच भेट भएको छ। शुक्रबार बानेश्वरस्थित संघीय संसद भवनमा भएको भेटमा दुई देशबिचको सम्बन्ध, संसदीय सहकार्य र आपसी हितका विषयमा कुराकानी भयो।
दाहालले नेपाल–चीन सम्बन्ध मानव सभ्यतासँगै विकसित भएको उल्लेख गर्दै पछिल्ला वर्षमा यो सम्बन्ध निकट र बलियो बनेको बताए। ‘दुई देशबिचको सम्बन्ध युगौँ पुरानो र सभ्यतासँगै विकसित हुँदै आएको छ। भृकुटी र अरनिको जस्ता ऐतिहासिक व्यक्तित्वले निर्माण गरेको हाम्रो सम्बन्ध निरन्तर विकास र सुदृढ हुँदै गएको छ,’ उनले भने, ‘भविष्यमा हाम्रो मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अझ बलियो हुनेमा म विश्वस्त छु।’
नेपाल भ्रमणमा आएका उपाध्यक्ष जीसँगको छलफलमा दाहालले नेपाल एक–चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको र चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने कुरामा दृढ रहेको जनाए। उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि संसदीय भ्रमणले सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलेको बताए।
चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका माध्यमबाट नेपालको आर्थिक र सामाजिक विकासमा पूर्वाधारका क्षेत्रमा सहयोग गरेकोमा दाहालले खुसी व्यक्त गरेका छन्। ‘दुई देशबिच संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी र सूचना प्रविधिका क्षेत्रमा सहयोग र सहकार्य बढेकोमा खुसी लागेको छ,’ उनले भने।
दाहालले दुई देशबिचका समझदारी र सहमति प्राथमिकताका साथ कार्यान्वयन हुने विश्वास व्यक्त पनि गरेका छन्। उनले चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेमा आशावादी रहेको बताए। सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद दिँदै दाहालले यो संवादले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय मुद्दा सम्बोधन गर्न सहमति र सहकार्य अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। उनले जलवायु परिवर्तनबाट हिमाल र मानव समुदायको भविष्य जोगाउन सगरमाथा संवाद सुरु भएको उल्लेख गरे।
सो अवसरमा दाहालले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र जनताको त्याग र बलिदानबाट स्थापित भएको र नयाँ संविधानले जनअधिकार सुनिश्चित गरेको बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै पूरा हुने र नेपालको शान्ति प्रक्रियामा चीनको सहयोग महत्त्वपूर्ण रहेको जनाए। पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडान हुनेमा आशावादी रहेको भन्दै दाहालले पर्यटन प्रवर्द्धन, हवाइ सेवा विस्तार र आर्थिक विकासका लागि चीनले ती विमानस्थलमा उडान सुचारु गर्न पहल गर्ने विश्वास व्यक्त गरेका छन्।
उपाध्यक्ष सियाओ जीले नेपाल चीनको असल छिमेकी भएको उल्लेख गर्दै नेपाल रणनीतिक, सांस्कृतिक र सामाजिक हिसाबले महत्त्वपूर्ण छिमेकी भएको र दुई देशले क्षेत्रीय तथा पारस्परिक विकासमा सहयोग गरेको उल्लेख गरेका छन्। उनले नेपालको एक–चीन नीति र चीनविरुद्ध नेपाली भूमि प्रयोग नगर्ने नीतिको प्रशंसा समेत गरेका छन्।
जलवायु परिवर्तन न्यूनीकरणमा नेपालको प्रयास सह्रानीय रहेको भन्दै सियाओले नेपाल र चीन दुवै ट्रान्स–हिमालयन राष्ट्र भएकाले चुनौती र अवसर साझा भएको उनको भनाइ थियो। उनले चीनले नेपालको सामाजिक र आर्थिक विकासमा निरन्तर सहयोग गरेको र आगामी दिनमा त्यसलाई विस्तार गर्ने प्रतिबद्धता जनाए। नेपालमा चिनियाँ लगानी, सांस्कृतिक आदानप्रदान, जनस्तरको सहकार्य र शैक्षिक सम्बन्ध वृद्धि भएको उनले जानकारी दिए।
सियाओले दुई देशका संसदीय मैत्री समूह र अन्य संस्थामार्फत अनुभव आदानप्रदानमा सहयोग पुगेको र आगामी दिनमा संसदीय भ्रमणलाई निरन्तरता दिने बताए। भेटमा पूर्वअर्थमन्त्री वर्षमान पुन, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्याल, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए। चिनियाँ पक्षबाट राजदूत छेन् सोङसहित उच्च अधिकारी उपस्थित थिए।
प्रकाशित: २ जेष्ठ २०८२ १९:४१ शुक्रबार





