पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ ।
‘जनातासँग माओवादीः मध्यपहाडी लोकमार्ग ९पुष्पलाल मार्ग०जनजागरण अभियान’ शुभाम्भ गर्न यहाँ पुगेका पूर्वप्रधानमन्त्री दाहाल लगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए।
आजै दिउँसो यहाँको पाटनमा विशेष कार्यक्रमको आयोजना गर्दै अध्यक्ष दाहालले उक्त जनजागरण अभियानको शुभारम्भ गर्नेछन्।
यो अभियानको नेतृत्व अध्यक्ष दाहाल स्वयंले गर्नेछन्। अभियानमा भाग लिन पार्टीका अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यहाँ आएका छन्।
यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ ।
अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ । यसले सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ । अभियान जेठ १० गते कास्की पोखरामा समापन हुनेछ ।
प्रकाशित: २ जेष्ठ २०८२ १२:३६ शुक्रबार





