१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

थापालाई पुनको जवाफ : काम गरेर जवाफ दिनुस्, मुख चलाएर होइन

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले सत्तापक्षले काम गरेर जवाफ दिनुपर्ने बताएका छन्।

बिहीबार (आज) संसद्‌मा जारी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बोल्दै पुनले यस्तो बताएका हुन्।

उनीभन्दा अगाडि बोलेका एमाले सांसद सूर्य थापाले सत्तापक्षमा हुँदा समस्यै नदेख्ने र प्रतिपक्षमा हुँदा समस्यै-समस्या देख्ने प्रवृत्ति बलियो रहेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरेका थिए।

'म काम गर्छु भनेर जिम्मेवारी लिएको व्यक्तिले अरुसँग बाटोमा जुध्दै होइन, सत्तापक्षले काम गरेर देखाउने हो। प्रतिपक्षले जनताको आवाज खबरदारी गर्ने हो। मुख धेरै चलाउने, खण्डन गर्ने, जनतालाई खण्डन गरेर लोकतन्त्र सुदृढ हुँदैन। त्यसैले सत्तापक्षका माननीयज्यूहरूले काम गरेर जवाफ दिनुस्, हामी केही भन्दैनौँ। रचनात्मक रूपमा हामीले प्रस्तुत हुन्छौँ,' उनले भने।

पुनले सत्तापक्षले काम गरे प्रतिपक्षको जवाफ स्वत: कमजोर हुने पनि बताए। तर, सत्तापक्षले ठीकसँग काम नगर्दा आवाज उठाइरहनुपर्ने भएको पनि उनले बताए।

'गाली गरेर भएन, क्षमता अभिवृद्धि गर्नुपर्‍यो। हामीले यहाँ एकअर्कालाई दोष दिने, आरोप गर्नेभन्दा पनि हामीले आफूले आफ्नो ठाउँबाट जिम्मेवारी गरौँ। सरकारले मज्जाले काम गरेर प्रतिपक्ष दलको खण्डन गर्ने हो। जनताको गुनासा, असन्तुष्टिहरूलाई सम्बोधन गर्नुस्। त्यसो गर्दा त कुनै गुनासै आउँदैन। राम्रो काम गरियो भने सत्तापक्षको हाइहाइ हुन्छ, प्रतिपक्षको आवाज स्वत: कमजोर हुन्छ। सडकमा आवाजहरू कमजोर हुन्छ। यही होइन त लोकतन्त्र भनेको,' उनले भने।

प्रकाशित: १ जेष्ठ २०८२ १५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App