राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले नेपालको सन्दर्भमा राजनीति भनेको निर्वाचन मात्रै भएको बताएका छन्।
मङ्गलबार (आज) बसेको संसद् बैठकमा उनले यस्तो बताएका हुन्। 'राजनीति हाम्रो लागि निर्वाचन मात्रै भइदियो। एउटादेखि अर्को निर्वाचनसम्म एक हजार आठ सय २५ दिन हुँदोरहेछ। २५ दिन हामी सेलेब्रेट गर्छौँ, घरदैलो गर्छौँ, धन्यवाद भन्छौँ, प्रसाद खान्छौँ, मिठाई खान्छौँ। त्यसबाहेक एक हजार आठ सय दिन चाहिँ हामी अर्को चुनावको तयारीमा लाग्छौँ,' उनले भने, 'अहिले नै पनि बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि कुरा गर्दैगर्दा अगाडिका रोहरू कति खाली छन्, किनकि हामीलाई अर्को चुनावको चिन्ता भइसक्यो।'
यस्तै उनले सरकारले केन्द्रबाट प्रदेश र स्थानीय तह पैसा मात्रै पठाउने गरेको बताए। सीप र रणनीति नपठाउँदा विकास बजेट खर्च हुन नसकेको झाको भनाइ छ।
'सङ्घीय संरचनामा गएपछि नम्बर अफ इन्स्टिट्यूसन बढायौँ तर, फेडरल स्ट्रक्चरमा मात्रै बढायौँ। तल बढाएनौँ। बजेट १८ खर्बमा पाँच खर्बजति हामीले प्रदेश र स्थानीय तहमा पठाउँछौँ तर, पैसा मात्रै पठायौँ। क्षमता पठाएनौँ, क्षमता बढाउनेतिर लागेनौँ। त्यसकारण प्रदेशहरूले २०/२५ प्रतिशतभन्दा बढी खर्च गर्नै सकेका छैनन्। किनकि पैसा मात्रै पठायौँ, सीप र रणनीति पठाएनौँ,' उनले भने।
प्रकाशित: ३० वैशाख २०८२ १५:१९ मंगलबार





