उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सामाजिक सञ्जाल मात्र हेरेर विकासको आकलन नगर्न आग्रह गरेका छन् ।
सोमबार कालिका हिमालय माध्यमिक विद्यालयको स्वर्णजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा मात्र भर परेर धारणा बनाउन नहुने बताए । अहिले सामाजिक सञ्जालका माध्यमबाट व्यवस्था फेरियो अवस्था फेरिएन भन्ने अफवाह फैलाउने काम भइरहे पनि यथार्थ त्यस्तो नरहेको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले रसुवा जिल्लाकै पहिले र अहिलेको अवस्था मुल्यांकन गर्न आग्रह गर्दै विद्यालयकै पहिले र अहिलेको अवस्थामा पनि परिवर्तन भएको दाबी गरे ।
'सामाजिक सञ्जालमात्र हेरेर देशको विकासको अवस्थाबारे आकलन गर्नु ठिक हुँदैन । सामाजिक सञ्जाल भनेको भर्चुअल संसार हो,' उपप्रधानमन्त्री सिंहले भने,'तपाईं हामीले भोगिरहेको संसार नै वास्तविक हो । विगतमा भन्दा अवस्थामा बिस्तारै परिवर्तन भइरहेको छ । विकास निर्माणको कामलाई गति दिन नै राजनीति स्थीरता र स्थायीत्वका लागि अहिलेको सरकार बनेको हो ।'
त्यस्तै उपप्रधानमन्त्री सिंहले शिक्षा र ज्ञान आर्जन इच्छा गरेर मात्र नहुने भन्दै त्यसका लागि मेहनत गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय शिक्षाका लागि समुदायले विद्यार्थीप्रति अपनत्व लिनुपर्ने सुझाव दिए।
'इच्छा गर्दैमा शिक्षित भइँदैन । शिक्षा आर्जन गर्न मेहनत गर्नुपर्छ । मेहनत गरेरै मात्र ज्ञान सीप प्राप्त हुँदैन,' उनले भने, 'गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट विद्यार्थी बनाउन शिक्षा, विद्यार्थी, अभिभावक र व्यवस्थापन समितिको समन्वयात्मक भूमिका जरूरी हुन्छ । त्यसमा पनि ध्यान दिनुपर्छ ।' एउटा राम्रो विद्यार्थी उत्पादन गर्न समय लाग्ने भन्दै देश निर्माणका लागि पनि समय लाग्ने उनको भनाइ थियो ।
प्रकाशित: २९ वैशाख २०८२ १८:१५ सोमबार





