पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २५६९औँ बुद्ध जयन्ती र किरात समुदायको उभौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले गौतम बुद्धप्रति सम्मान र श्रद्धा व्यक्त गर्दै शान्ति, सद्भाव र समृद्धिको कामना गरेका छन्।
शुभकामना सन्देशमा खनालले भने, ‘आज विश्व शान्तिका अग्रदूत तथा महान् दार्शनिक गौतम बुद्धको २५६९औँ जन्मजयन्ती र किरात समुदायको महान् पर्व उभौलीको दिन हो। यस पवित्र अवसरमा म बुद्धप्रति हार्दिक सम्मान र श्रद्धा अर्पण गर्छु। सम्पूर्ण बौद्धजनलाई शान्ति, सद्भाव र समृद्धिको शुभकामना व्यक्त गर्छु।’
उनले २५६९ वर्षअघि लुम्बिनीमा जन्मेका बुद्ध मेधावी बालक भएको र सानैदेखि प्रचलित चिन्तनप्रति असन्तुष्ट रहेको उल्लेख गरे। ‘२९ वर्षको उमेरमा बुद्धले दरबार त्यागेर ज्ञानको खोजीमा प्रव्रज्या लिए। ६ वर्षको कठोर अभ्यासपछि ३४ वर्षको उमेरमा उनले बोधिज्ञान प्राप्त गरे,’ खनालले भने। बुद्धले ४५ वर्षसम्म आफ्ना ज्ञानको प्रचार गरेको र त्रिपिटक नामक विश्वको ठूलो दार्शनिक ग्रन्थ रचना गरेकोमा सबै नेपालीले गर्व गर्नुपर्ने उनको भनाइ छ।
खनालले बुद्धका अहिंसा, शान्ति, सहअस्तित्व, जीवनको अनित्यता, परिवर्तनशीलता, कारण र कार्यको सिद्धान्त, लैङ्गिक समानता, छुवाछूत र वर्णवादको अस्वीकार तथा सामूहिकताका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। ‘बुद्ध दर्शनको गहन अध्ययन गरौँ र यसका सकारात्मक पक्षलाई समाजको विकास र रूपान्तरणमा उपयोग गरौँ,’ उनले भने।
यस्तै, उभौली पर्वको अवसरमा उनले स्वदेश र विदेशमा रहेका किरात समुदायलाई सुख, शान्ति, सद्भाव र समृद्धिको शुभकामना दिए। ‘किरात समुदायको महान् पर्व उभौलीले हाम्रो सांस्कृतिक विविधताको पहिचानलाई बलियो बनाउन योगदान पुर्याओस्,’ उनले भने।
प्रकाशित: २९ वैशाख २०८२ १०:२५ सोमबार