पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले करुणा, अहिंसा र शान्तिले मात्र मानव सभ्यताको रक्षा हुने बताएकी छिन्। २५६९औँ बुद्ध जयन्ती र किरात समुदायको उभौली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लुम्बिनीमा जन्मेका गौतम बुद्धले मानव जीवनका लागि करुणा, अहिंसा र शान्तिको मार्ग देखाएको उल्लेख गरेकी छिन्।
सामाजिक सञ्जाल एक्समा उनले लेखेकी छिन्, ‘आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि बुद्धले दिएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झन् सान्दर्भिक बनिरहेको छ।’
यस्तै, उनले उभौली पर्वले आपसी सद्भाव, सहिष्णुता र सम्मानको भावना बढाएर राष्ट्रिय एकतालाई बलियो बनाउन योगदान दिने बताएकी छिन्। एक्समा उनले लेखेकी छिन्, ‘नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान बोकेको विविधतायुक्त मुलुकमा साझा पहिचान र सहअस्तित्वको संस्कृति अझ बलियो बनोस्, उभौली पर्वले सबैमा नवऊर्जा, आपसी प्रेम र राष्ट्रिय गौरवको भावना थप प्रगाढ बनाओस् भन्ने कामना गर्दछु।’
उभौली पर्वले किरात समुदायको मौलिक संस्कृति, पृथ्वी, प्रकृति र पितृप्रतिको श्रद्धा तथा कृषि परम्परालाई झल्काउने उनको भनाइ छ। यो पर्वले प्रकृतिसँगको सहअस्तित्व, ऋतुसँगको तालमेल र समाजसँगको समन्वयको सन्देश दिने उनले बताएकी छिन्।
प्रकाशित: २९ वैशाख २०८२ १०:०९ सोमबार





