२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

युद्धविरामपछि भारतको ब्रिफिङ: ‘पुनः आक्रमण भए कडा जवाफ दिन्छाैं’

भारत–पाकिस्तानबीच युद्धविराम घोषणा भएको केही घण्टापछि भारतको रक्षा मन्त्रालयले शनिबार साँझ पत्रकार सम्मेलन गरी पाकिस्तानका गलत प्रचारविरुद्ध चर्को आपत्ति जनाएको छ।

सेना, वायुसेना र नौसेनाका अधिकारीहरूले भारतका सैन्य संरचना सुरक्षित रहेको र पुनः आक्रमण भए कठोर प्रत्युत्तर दिने चेतावनी दिएका छन्।

शनिबार साँझ सम्पन्न ९ मिनेट लामो प्रेस ब्रिफिङमा थलसेनाबाट कर्नल सोफिया कुरैशी, वायुसेनाबाट विङ कमान्डर व्योमिका सिंह र नौसेनाबाट कमोडोर रघु आर. नायर उपस्थित थिए।

कर्नल कुरैशीले पाकिस्तानले गलत सूचना फैलाउँदै भारतको एस-४०० र ब्रह्मोस मिसाइल बेसमा क्षति पुर्‍याएको दाबी गरेको तर त्यो पूर्ण रूपमा असत्य रहेको स्पष्ट गरिन्।

उनले भनिन्, ‘सिरसा, जम्मू, पठानकोट र भुजस्थित एयरफिल्डहरूमा आक्रमण गरिएको दाबी पनि गलत हो। चण्डीगढ़ र ब्यासस्थित सैन्य गोदामहरू पूर्ण सुरक्षित छन्।’

उनका अनुसार पाकिस्तानले भारतले मस्जिदहरूमा क्षति पुर्‍याएको भनी झुटो प्रचार गरिरहेको छ। उनले जोड दिइन्, ‘भारत धर्मनिरपेक्ष राष्ट्र हो र सेना यसको सशक्त प्रतिबिम्ब हो। हामीले पाकिस्तानका स्कर्दू, जकुबाबाद, सरगोदा र बुलारीस्थित एयरफिल्डहरूमा असर पुर्‍याएका छौं।’

कर्नल कुरैशीले थपिन्, ‘हामीले पाकिस्तानका एयर डिफेन्स सिस्टम, राडार प्रणाली, कमाण्ड एन्ड कन्ट्रोल संरचना, लजिस्टिक बेस र सैन्य संरचनाहरूमा ठूलो क्षति पुर्‍याएका छौँ। यसले पाकिस्तानको आक्रामक र रक्षात्मक क्षमतामा गम्भीर असर पारेको छ। भारतीय सेना देशको अखण्डता र सार्वभौमिकताको रक्षाका लागि पूर्ण रूपमा सतर्क र तयार छ।’

कमोडोर रघु आर. नायरले विदेश सचिवको भनाइ दोहराउँदै भने, ‘हामी सबै सैन्य कारबाहीहरू रोक्न सहमत भएका छौँ। तर यदि पाकिस्तानले पुनः उक्साहट गर्‍यो भने त्यसको निर्णायक जवाफ दिइनेछ।’

उनले थपे, ‘भारतीय थलसेना, वायुसेना र नौसेना मातृभूमिको सुरक्षाप्रति पूर्णतः प्रतिबद्ध छन्। हाम्रो सतर्कता उच्चस्तरमा रहेको छ, र यदि कुनै दुस्साहस दोहोरियो भने त्यसको जवाफ अझ कठोर हुनेछ।’

भारतले युद्धविरामको पालना गर्ने तर आवश्यक परेमा प्रत्युत्तर दिन पछि नहट्ने स्पष्ट सन्देश दिएको छ।

सेनाका उच्च अधिकारीहरूले पाकिस्तानका गलत प्रचारविरुद्ध तथ्यसहित प्रतिवाद गर्दै राष्ट्रिय सुरक्षामा कुनै सम्झौता नगर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गरेका छन्।

प्रकाशित: २७ वैशाख २०८२ २०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App