अमेरिकी सेनाले दक्षिणी इरानमा ‘आत्मरक्षा’का लागि आक्रमण गरेको छ। क्षेप्यास्त्र प्रक्षेपण स्थल र माइन बिछ्याएका डुङ्गालाई लक्षित गरिएको दाबी गरिएको छ। उता, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ दाबी गरेका छन्।
अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इरानी सेनाबाट उत्पन्न खतराबाट हाम्रा सेनालाई जोगाउन आवश्यक आक्रमण गरियो। यद्यपि चालु युद्धविरामको समयमा हामीले संयम अपनाएका थियौं।’
यो घटनाले इरानसँगको कूटनीतिक वार्तालाई कति प्रभाव पार्छ भन्ने स्पष्ट भइसकेको छैन। उता, ट्रम्पले सामाजिक सञ्जालमा इरानसँग युद्ध अन्त्य गर्ने कुनै सम्झौतामा साउदी अरेबिया, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र कतार लगायतका देशहरूले अब्राहम सम्झौतामा सामेल हुनुपर्ने नयाँ सर्त अगाडि सारेका छन्। जसअनुसार यी देशहरुले इजरायललाई मान्यता दिएर कूटनीतिक सम्बन्ध स्थापित गर्नुपर्नेछ। उनले यी देशहरूलाई ‘तुरुन्तै’ हस्ताक्षर गर्न आह्वान गरेका हुन्।
ट्रम्पको भनाइमा, ‘यो जटिल पजल समाधान गर्न अमेरिकाले गरेको सबै प्रयासपछि यी देशहरूले कम्तीमा एकैसाथ अब्राहम सम्झौतामा हस्ताक्षर गर्नु अनिवार्य छ।’ अब्राहम सम्झौता ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने श्रृंखला हो। यसमा बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) २०२० मा पहिले सामेल भएका थिए। पछि सुडान, मोरक्को र काजाकिस्तान पनि जोडिए।
साउदी अरेबियाले भने कुनै पनि सामान्यीकरणका लागि प्यालेस्टिनी राज्य स्थापनाको स्पष्ट मार्ग चाहिने बताउँदै आएको छ। पाकिस्तानले पनि इजरायलसँग कूटनीतिक सम्बन्ध नराख्ने अडान कायम राखेको छ। इस्लामाबादका विश्लेषक सैयद मोहम्मद अलीले ट्रम्पको प्रस्तावका बाबजुद पाकिस्तानको इजरायलप्रतिको अडान अपरिवर्तित रहेको बताएका छन्।
पाकिस्तानका लागि अमेरिकाका पूर्व राजदूत मसूद खानले भने, ‘यो प्रस्ताव कति व्यावहारिक छ हेर्न बाँकी छ। अब्राहम सम्झौताको आह्वानले कूटनीतिक प्रक्रियालाई नयाँ आयाम दिएको छ, किनकि यो मुद्दा मूल एजेन्डामै थिएन।’ तर खानले कूटनीतिक बाटो अझै खुला रहेको र पाकिस्तान यसको केन्द्रमा रहेको विश्वास व्यक्त गरेका छन्।
ट्रम्पले शनिबारको वार्तामा यो योजनाबारे छलफल गरेको बताएका छन्। उनले एक वा दुई देशले अस्वीकार गरे पनि धेरैजसो देश इच्छुक हुनुपर्ने बताए। इजिप्ट र जोर्डनले पहिले नै इजरायलसँग शान्ति सन्धि गरेका छन् भने टर्कीले सन् १९४९ देखि नै इजरायललाई मान्यता दिइसकेको छ।
इरानसँगको अन्तिम सम्झौता कहिले र कसरी हुन्छ भन्ने अझै स्पष्ट छैन। तर ट्रम्पले यदि सम्झौता भयो भने इरानले पनि अन्तत: अब्राहम सम्झौतामा सामेल हुन सक्ने सङ्केत दिएका छन्।
यो घटनाक्रमले मध्यपूर्वको कूटनीतिमा नयाँ जटिलता थपेको छ भने ट्रम्प प्रशासनको घरेलु तथा अन्तर्राष्ट्रिय दबाबबीच वार्ता कसरी अघि बढ्छ भन्नेमा विश्वव्यापी चासो छ। एजेन्सी
प्रकाशित: १२ जेष्ठ २०८३ ०७:०२ मंगलबार





