डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीसँग एकीकरणका लाग ठिक्क परेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी गत वैशाख १७ गते पक्राउ परे। उनी त्यही दिन साढे पाँच घण्टापछि छुटे। यो च्याप्टर त क्लोज भयो।
तर, संरक्षक पक्राउ परेपछि नागरिक उन्मुक्तिले सरकार छाड्ने चेतावनी दिएको थियो। चौधरी पक्राउ पर्नासाथ पार्टी प्रवक्ता दामोदर पण्डितले भनेका थिए— हाम्रा नेता पक्राउ गर्ने सरकारलाई हामीले समर्थन किन गरिरहने ? हामीले आजै सरकार छाड्नेछौँ।
यस सम्बन्धमा त्यो दिन साढे पाँच घण्टासम्म नागरिक उन्मुक्तिले कुनै निर्णय लिएन। साँझ चौधरी छुटे, त्यसपछि उसले यसमा थप जोड पनि गरेन। अहिलेसम्म यस सम्बन्धमा उसले स्पष्ट पनि पारेको थिएन।
तर, धेरै दिनपछि सन्चो भएर आज संसद् पुगेकी नागरिक उन्मुक्ति अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने अब सरकार नछाड्ने बताएकी छन्। यस सम्बन्धमा जिज्ञासा राख्दा उनले भनिन्, 'गृहमन्त्रीले जवाफ दिनुभएको छ। सन्तुष्ट नै छौँ हामी।'
तपाईंहरूले सरकार छाड्ने चेतावनी नै दिनुभएको थियो नि ? भन्ने थप प्रश्नमा उनले पुन: दोहोर्याइन्— गृहमन्त्रीले जवाफ नदिनुभएको भए त्यो छुट्टै पाटो थियो। उहाँले भनेको निश्चित समयमा जवाफ दिइसक्नुभएको भएर त्यो अहिले छैन।
अब सरकारमै रहन्छ पार्टी भन्ने प्रश्नमा उनले 'हजुर' भनिन्। अर्थात्, अब नागरिक उन्मुक्ति सरकारमै रहनेछ। नागरिक उन्मुक्तिका तर्फबाट अहिले अरूण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।
शुक्रबार (आज) मात्रै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली पनि भेटेकी थिइन्। प्रधानमन्त्री ओलीले उनलाई 'रेशम चौधरी पक्राउमा राज्यसँग कुनै पूर्वाग्रह छैन' भनेर भनेका थिए। त्यसमा श्रेष्ठ पनि 'कन्भिन्स' छन्।
प्रकाशित: २६ वैशाख २०८२ १८:२० शुक्रबार