नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिनिधिसभामै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि व्यङ्ग्य गरेका छन्। शुक्रवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बाँस्कोटाले ‘दिउँसो जनवादी बिहे, बेलुका महँगो रिसोर्टमा ढुल्मुलिने’ भन्दै दाहालमाथि व्यंग्य गरेका हुन्।
‘हामीकहाँ यस्तो अभ्यास छ कि दिउँसो जनवादी बिहे,’ बाँस्कोटाले भने,‘बेलुका गएर सबैभन्दा महँगो रेस्टुरेन्टमा गएर पार्टी खाएर ढुन्मुनिनुपर्ने जस्तो अभ्यास र संस्कारबाट आएपछि आँखाहरू फरक हुन्छन्।’
उनले यसमा कुनै अभियोग भने लगाएको बताए। ‘यो हाम्रो अभ्यास हो। सरकारमा नभएको कुनचाहिँ पार्टी छ? यो संसदमा भएको? आफ्नो पालामा केके चमत्कार ग¥यो? यसका त्यसका निरन्तरता पनि छन्। नीति कार्यक्रममा सबै कुरा खारेज गरेको छ र ?’ बाँस्कोटाले प्रश्न गरे।
संसदमा तीन वटा धार रहेको पनि उनले टिप्पणी गरे । उनले भने, ‘एउटा सत्तापक्ष, अर्को प्रतिपक्ष र अर्को व्यवस्थाकै विपक्षमा उभिएर हिँडेको शक्ति जस्तो लाग्छ उहाँहरू हिँड्नुभएको जस्तो लाग्छ।’
केही दिन अघि माओवादी अध्यक्ष दाहाल बाथरुममा लडेर सामान्य घाइते भएका थिए। दाहाल वैवाहिक पार्टीका लागि ललितपुरको लाँकुरी भन्ज्याङमा रहेको एक महँगो रिसोर्टमा गएको र त्यहीँ लडेको खुलेको थियो। यद्यपि उनको सचिवालयले भने उक्त कुरा स्वीकार गरेको छैन।
प्रकाशित: २६ वैशाख २०८२ १५:१९ शुक्रबार