पुराना वामपन्थी नेता प्रदीप नेपालको निधन भयो। उनको मङ्गलबार (आज) नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ। उनको आफ्नै इच्छास्वरूप उनलाई राष्ट्रिय झण्डा ओढाइएन, श्रद्धाञ्जलीका लागि राखिएन।
२०२६ सालतिर विद्यार्थी राजनीतिबाट राजनीतिक फाँट छिरेका नेपाल पटकपटक मन्त्री बने। तर, विवादित बनेनन्। राजनीतिसँगै साहित्यमा उत्तिकै प्रखर नेपाल सादगी थिए। उनको निधन भएपछि धेरैले उनका यिनै कुराहरू सम्झिएका छन्।
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालको निधनले पीडाबोध भएको बताएका छन्। पार्टी निर्माणमा उनले महत्त्वपूर्ण भूमिका खेलेको ओलीले सम्झिएका छन्।
'एमाले निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नु भएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनु भएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ,' उनले भनेका छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई वामपन्थी आन्दोलनका प्रखर तथा बौद्धिक व्यक्तित्व भनेका छन्। नेपालले निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा गरेको योगदान अविस्मरणीय रहने बताएका छन्।
यस्तै नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाललाई लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान गरेको भनेर सम्झिएका छन्। 'पूर्वमन्त्री,वामपन्थी नेता आदरणीय प्रदीप नेपालको निधनको खबरले स्तब्ध बनाएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान महत्त्वपूर्ण छ,' भण्डारीले भनेका छन्।
माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले पनि यही कुरा उल्लेख गरेका छन्। 'कम्युनिष्ट आन्दोलन र प्रगतिशील वामपन्थी साहित्यमा यहाँको योगदान स्मरणीय छ र रहिरहनेछ,' उनले भनेका छन्।
यस्तै एमाले नेता योगेश भट्टराईले नेपालको निधनले राजनीति तथा साहित्य क्षेत्रमा गम्भीर क्षति भएको बताएका छन्। नेपाल आफ्ना राजनीतिक गुरु भएको उल्लेख गर्दै उनले भनेका छन्, 'गम्भीर क्षति भएको छ।'
माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले पनि नेपाललाई नेपाली वामपन्थी आन्दोलनका एक धरोहरका रूपमा सम्झिएका छन्। 'नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँको योगदान सधैँ सम्झनायोग्य रहनेछ,' उनले भनेका छन्।
अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि नेपाललाई सम्झिएका छन्। उनले नेपाललाई नेपालको वामपन्थी आन्दोलनका सशक्त हस्ती भनेका छन्। 'मेरो जीवन यात्रालाई पूर्णकालीन राजनीतितिर मोडिदिने आदरणीय कमरेड प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली,' उनले भनेका छन्।
यस्तै अर्का एमाले नेता लालबाबु पण्डितले पनि नेपाललाई बौद्धिक नेताका रूपमा चित्रित गरेका छन्। 'नेपालको कम्युनिष्ट आन्दोलनका सङ्घर्षशील तथा बौद्धिक नेता एवम् प्रगतिशील साहित्यकार कमरेड प्रदीप नेपालप्रति हार्दिक श्रद्धाञ्जली,' उनले भनेका छन्।
एमाले नेता प्रदीप ज्ञवालीले पनि नेपाललाई सम्झिएका छन्। 'नश्वर देह नरहे पनि पार्टी निर्माणमा पुर्याउनु भएको असाधारण योगदानमाहामीजस्ता धेरैका निम्ति प्रेरणा स्रोतका रूपमा र अजम्बरी साहित्यिक सिर्जनाहरूमा कमरेड सधैँभरि बाँचिरहनु हुनेछ,' उनले भनेका छन्।
यसबाहेक राजनीतिक विश्लेषक, कलाकार, पत्रकारहरूले पनि नेपाललाई सम्झिएका छन्।
यो पनि पढ्नुहोस्
पूर्वमन्त्री प्रदीप नेपालको निधन
प्रकाशित: २३ वैशाख २०८२ २०:५२ मंगलबार





