प्रतिनिधि सभा नियमावली-२०७९ बमोजिम मन्त्रीको उपस्थिति बिना संसद् बैठक सञ्चालन हुन सक्दैन। अर्थात्, बैठक सञ्चालन हुनका लागि कम्तीमा पनि एक मन्त्रीको उपस्थिति अनिवार्य रहनुपर्छ। नियमावलीले त्यसलाई 'सरकारको उपस्थिति' ठान्दछ।
तर, मङ्गलबार (आज) बसेको संसद् बैठक पाँच मिनेट ३० सेकेन्ड मन्त्री बिना नै सञ्चालन भयो। बैठकको रक्षामन्त्री मानवीर राई मात्रै थिए। तर, उनी पनि उठेर हिँडेपछि बैठक मन्त्री-शून्यको अवस्थामा पुग्यो।
संसद्मा सोमबार (हिजोदेखि) सरकारका आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। आजको बैठकमा २८ जना सांसदहरूले बोल्ने कार्यक्रम थियो। र, अन्तिममा थिए सत्तारूढ दल नेकपा (एमाले) का सांसद ऋषिकेश पोखरेल।

पोखरेलले बोल्ने समयसम्म पाँच घण्टा ११ मिनेट १० सेकेन्ड गइसकेको थियो। पोखरेललाई सभामुख देवराज घिमिरेले समय दिँदा पाँच घण्टा ११ मिनेट १० सेकेन्ड भएको थियो। उनले नौ मिनेटको समय पाए। समय पाएपछि पोखरेल पोडियमतिर लागे। ठीक त्यही समय रक्षामन्त्री मानवीर राई पनि उठेर हिँडे। जबकि, संसद्मा मन्त्रीका रूपमा राई मात्रै उपस्थित थिए। उनी पनि उठेर हिँडे, यसपछि संसद् मन्त्री-शून्यको अवस्थामा पुग्यो।
पोखरेल पोडियम पुगेर बोल्न थाले। उनले पाँच मिनेट ३० सेकेन्ड बोलिसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाए। उनले हात उठाएपछि सभामुख घिमिरेले 'तपाईंको केमा नियमापत्ति हो ?' भनेर सोधे।
पाण्डेले बैठक मन्त्री बिना चलिरहेको सम्झाए। 'मैले नियमापत्ति गर्न खोजेको हो सम्माननीयज्यू, हाम्रो नियमको ६; मन्त्रीज्यूबेगर सदन चलिरहेको कुरा राख्न खोजेको हो मैले,' उनले भने। यहीबेला मन्त्री राई भित्रिए। 'उहाँ आइपुग्नुभयो तर, यसरी छोड्नु हुँदैन,' पाण्डेले आफ्नो कुरा टुङ्ग्याए।

त्यसपछि सभामुख घिमिरेले संसद्को गरिमालाई ख्याल गर्न आग्रह गरे। 'संसद्को गरिमालाई, संसद्को महत्त्वलाई, संसद्को परम्परालाई सबैले कायम राख्दै संसद्लाई ठीक ढङ्गबाट सञ्चालन गर्न यहाँहरूको दायित्व छ भन्ने कुरालाई गम्भीरताका साथ राख्न चाहन्छु, धन्यवाद,' उनले भने। पोखरेलको समय बाँकी नै थियो। यसपछि सभामुख घिमिरेले उनलाई आफ्नो कुरा जोड्न आग्रह गरे।
तर, त्यसअघि पाँच मिनेट ३० सेकेन्ट मन्त्री बिना नै बैठक सञ्चालन भइसकेको थियो। यो प्रतिनिधि सभा नियमावलीविपरीत हो। किन त्यस्तो भयो भन्नेबारे जिज्ञासा राख्दा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले 'एकजना मात्रै मन्त्री हुँदाको समस्या' भएको बताए।
'हाम्रो नियमअनुसार संसद् बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ,' उनले भने, 'तर, आज एकजना मात्रै मन्त्री हुनुहुन्थ्यो। उहाँ पनि केही समय बाहिरिनुभयो। यसपछि सदनमा मन्त्री नै रहनुभएन। यो एकजना मात्रै मन्त्री हुँदा देखिने समस्या हो।' आगामी दिनमा त्यसलाई विशेष ख्याल गरेर अगाडि बढ्ने उनले बताए।

प्रकाशित: २३ वैशाख २०८२ १७:४८ मंगलबार




