१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

नेतृत्व सत्ताको कुर्सी मात्र होइन, जनतासँगको इमानदार सम्बन्ध हो: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व सत्ताको कुर्सी मात्र नभई जनतासँगको ईमानदार सम्बन्ध भएको बताउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास कार्यमा आफू प्रतिबद्ध रहेको जिकिर गरेका छन्।

मोरङको रङ्गेलीमा दोस्रो खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै उनले सीमित स्रोत र साधनका बीच तीनै तहका सरकारसँग समन्वय गरी जिम्मेवारीपूर्वक काम गरिरहेको उल्लेख गरे।

मन्त्री यादवका अनुसार रङ्गेली दोस्रो खानेपानी आयोजनाले ३,१६९ घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने छ। यस आयोजना समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना र सरकारको ‘एक घर, एक धारा’ लक्ष्यलाई साकार पार्ने महत्वपूर्ण कदम भएको मन्त्री यादवले उल्लेख गरे। “हामी जनताका सेवक हौं, जनताको खुशी नै हाम्रो खुशी हो,” उनले भने।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईन्जिनियर रामकुमार श्रेष्ठले आयोजना गुणस्तर, समयसीमा र पारदर्शिताका मापदण्डमा आधारित रही प्रविधिमैत्री ढंगले सम्पन्न हुने बताए।

रङ्गेली नगरपालिका-२ (लक्ष्मीपुर, दौलतपुर) र वडा नं-९ (दोभाना बजार, फर्साडाँगी) का बासिन्दाले यसबाट प्रत्यक्ष लाभ लिनेछन्।

मन्त्री यादवले रङ्गेलीका हजारौं नागरिकले खानेपानी अभावका कारण स्वास्थ्य, शिक्षा र आर्थिक गतिविधिमा कठिनाइ झेलिरहेको उल्लेख गर्दै यस आयोजनाले यी समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।

आयोजनाले महिला र बालबालिकालाई पानी लिन लामो दूरी हिँड्ने बाध्यता हटाउनुका साथै पानीजन्य रोगको जोखिम कम गर्ने अपेक्षा गरिएको छ।

रङ्गेली नगरप्रमुख दीलिपकुमार अग्रवालले आयोजना सम्पन्न भएपछि रङ्गेली स्वच्छ खानेपानीमा आत्मनिर्भर विकसित नगर बन्ने बताए। “गुणस्तरीय पानीले नागरिकको स्वास्थ्यमा सुधार ल्याउनेछ र दीर्घकालमा उपचार खर्चमा कमी आउनेछ,” उनले भने।

प्रकाशित: २२ वैशाख २०८२ १५:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App