प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले ओलीलाई गिज्याउने र गाली गर्नेले आफ्नो सन्तानको भविष्य अन्धकार बनाइरहेको टिप्पणी गरेकी छन्। शनिवार काभ्रेमा आयोजित कार्यक्रममा बोल्दै शाक्यले यस्तो बताइरहेको भिडिओ अहिले सामाजिक सञ्जालमा छाएको छ।
शाक्यले सामाजिक सञ्जालले समाजलाई नकारात्मकतातिर डोहोर्याइरहेको अवस्था रहेको भन्दै उक्त टिप्पणी गरेकी छन्। ‘करिब–करिब धेरै भाग त केपी सरलाई गाली गर्नमा नै छ जस्तो लाग्छ । तर, त्यो गाली गरेर हामीलाई त केही पनि हुने वाला छैन । हामी कति नै बाँच्छौँ अब ? हामी भनेको उत्तरार्द्धतिर पुगिसकेका मान्छे हौँ,’ उनले भनेकी छन्, ‘हामीले हिजो पञ्चायतको दमन त सहँदै आएका मान्छे हौँ भने अहिले यस्तो खुल्ला वातावरणमा बस्न पाएका छौँ । हामीले सहन सक्दैनौँ र ? सक्छौँ ।’
तर जस जसले प्रधानमन्त्री ओलीलाई गाली गरेर खुसी मनाइरहेका छन्, उनीहरूले आफ्नै सन्तानको भविष्य अन्धकार बनाइरहेको उनले बताएकी छन्। ‘आज केपी ओलीलाई गिज्याउन र केपी ओलीलाई गाली गर्न पाएँ भनेर खुसी भइराख्नु भएको छ, आखिरमा उहाँहरूकै भविष्य अन्धकार हुन्छ । उहाँहरूले आफ्नै खुट्टामा बन्चरो आफैँले हान्दै हुनुहुन्छ र आफ्नो सन्तान दर सन्तानको भविष्य अन्धकार बनाउँदै हुनुहुन्छ भन्ने मेरो निष्कर्ष छ ।’ त्यस्ता गालीले ओली र आफूलाई केही नहुने पनि उनले बताएकी छन्।
आफूहरूले यस्ता गाली र आलोचना पहिलेदेखि नै सही रहेको उनले बताएकी छन्। ‘आज अहिले यति बोलेँ, भरेदेखि अहो, बुढा कस्तो छ बुढी पनि उस्तै रहेछ भनेर मलाई गाली गर्नुसम्मको कमेन्टहरू आउँछन् । थाहा छ मलाई । तर, मैले यहाँ नराम्रो केही कुरा गरेँ ? गरेजस्तो लाग्दैन,’ शाक्यले भनेकी छन्।
प्रकाशित: २१ वैशाख २०८२ १६:०८ आइतबार





