आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा मुलुकमा भइरहेको बेथितिको नेपाली कांग्रेस छड्के किनाराको साक्षी बनेको टिप्पणी गरेका छन्।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज सुनसरीको इनरुवामा आजपा निकटको आम ट्रेड युनियन फेडरेसनद्वारा आयोजित दलाल दलतन्त्रको विरुद्धमा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको छ। प्रधानमन्त्रजी हरेक क्षेत्रमा असफल हुनुभएको छ र छड्के किनाराको साक्षी कांग्रेस हुनु दु:खद छ। आम जनताले परिवर्तन र निकास खोजेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘एउटा गभर्नर नियुक्त गर्न नसक्ने सरकारले देश कसरी चलाउँछ? सरकारले मुलुकलाई अन्योल बनाएको छ। यसरी मुलुक अगाडि बढ्न सक्दैन।’
यस्तै उनले प्रधानमन्त्री ओलीको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको बताए। ‘मुलुकलाई अगाडि बढाउन असफल भएको वर्तमान सरकारको स्टन्टले वैदेशिक सम्बन्ध बिग्रँदै गएको छ। हाम्रा दुई छिमेकी भारत र चीनसँग सम्बन्ध राम्रो छैन। प्रधानमन्त्रीको स्टन्टले भारतसहितका देशसँगको सम्बन्ध बिग्रेको छ,’ उनले भने।
प्रकाशित: १८ वैशाख २०८२ १८:५७ बिहीबार





