नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजावादी आन्दोलनलाई 'आपराधिक घटना'को संज्ञा दिएका छन्।
बुधबार (आज) 'नागरिक फ्रन्टलाइन'मा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्। गत २०८१ चैत १५ गतेको तीनकुने घटनालाई उद्धृत गर्दै उनले भने, 'आपराधिक घटनाहरूका प्रति कानून सक्रिय बनाउनैपर्छ। प्रहरीले गरिरहेकै छ। ती विशुद्ध समाजका आपराधिक घटना हुन्।'
पूर्वमन्त्रीसमेत रहेका ज्ञवालीले उक्त आन्दोलन बोकिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले द्वैध चरित्र देखाइरहेको बताए। सडकबाट व्यवस्था परिवर्तनको कुनै सम्भावना नरहेको उल्लेख गर्दै उनले भने, 'कि संविधानअन्तर्गत चुनाव नै लड्नुभएन, कि संविधानको दिशा निर्देशनलाई पालना गर्नुपर्छ। सडकबाट शक्ति प्राप्त हुँदैन, कि त्यो तहको समर्थन प्राप्त गर्नुपर्यो।'
उनले राप्रपासँग जनसमर्थन पनि नभएको उनले बताए। 'चुनावहरूमा उहाँहरूको जमानत जफत भइरहेको घटनाहरू हामीले देखेका छौँ। पछिल्लो चुनावमा उहाँहरूले प्राप्त गर्नुभएको मत जम्माजम्मी ५ प्रतिशत हो,' उनले भने।
प्रकाशित: १७ वैशाख २०८२ १९:१९ बुधबार





