नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताएका हुन्।
सहिद र बेपत्ता योद्धा परिवारप्रति जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो। सहिदले देखाएको मार्गमा लाग्ने प्रण गर्दै सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको उनको भनाइ छ।
जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको उल्लेख गर्दै दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने पनि स्पष्ट पारेका छन्। सो अवसरमा उनले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरे।
यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजनाको दाहालले उद्घाटन गरे। उनले सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको अवलोकन पनि गरेका छन्।
आजै पुनर्वास नगरपालिका–५ शोभाताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारका सदस्यसँग भेट्दै दाहालले सहिदको बलिदान खेर नजाने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याएका छन्। रासस
प्रकाशित: १७ वैशाख २०८२ १०:५६ बुधबार





