१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

भारत नेपालको व्यवस्था उल्ट्याउने पक्षमा छैन: डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालको वर्तमान व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताएका छन्।

भारत भ्रमणबाट मंगलबार स्वदेश फर्किएका भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो धारणा राखेका हुन्।

उनले भारतमा नागरिकस्तरमा नेपालको व्यवस्था उल्टिने विषयमा चासो रहेको पाए पनि भारत सरकार र त्यहाँका प्रमुख शक्तिहरू त्यस्तो गतिविधिमा संलग्न नरहेको स्पष्ट पारे।

“भारतमा विभिन्न आन्दोलनलाई लिएर व्यवस्थाविरुद्धको आशंका देखिन्छ, तर सरकार र मुख्य शक्तिहरू प्रतिगामी शक्तिलाई उक्साउने पक्षमा छैनन्,” उनले भने।

उनले अनावश्यक भ्रम फैलाएर प्रतिगामी शक्तिहरूले विरोध गरिरहेको आरोप लगाउँदै यस्ता गतिविधि सत्य नभएको र यसले कसैलाई फाइदा नगर्ने बताए।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले प्रभावकारी काम गर्न नसकेको निष्कर्षमा भारत पुगेको भन्दै भट्टराईले दुई देशबीचका समस्याहरू समाधान गर्न नयाँ विधि अपनाउनुपर्ने बताए।

भारतका नेताहरूसँगको भेटमा यो विषयमा सकारात्मक धारणा पाएको उनले उल्लेख गरे। “ईपीजी स्वीकार्य नभएको अवस्थामा प्रधानमन्त्रीस्तरको वार्ता र संवादबाट समस्याको समाधान खोज्नुपर्छ,” उनले भने।

नेपाल–भारत सम्बन्धको ऐतिहासिक महत्त्वलाई ध्यानमा राखी खुला सीमाना, अर्थतन्त्रलगायतका मुद्दामा संवादमार्फत समाधान आवश्यक रहेको उनको भनाइ छ।

भट्टराईले छिमेकी मुलुकहरूसँग सुमधुर सम्बन्ध कायम राख्दै अघि बढ्नुपर्नेमा जोड दिए। “कागले कान लग्यो भन्दैमा कागको पछाडि दौडिनु जरुरी छैन,” उनले भने।

प्रतिगामी शक्तिहरूको वितण्डाले निराश हुनु नपर्ने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै आत्मबलका साथ अघि बढ्नुपर्ने बताए।

प्रकाशित: १६ वैशाख २०८२ २०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App