मंगलबार निर्णायक वार्ता गरेर सहमति जुटाउने भनेका आन्दोलनरत् शिक्षक अहिलेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेका छैनन्। आन्दोलनरत् शिक्षकसँग वार्ता गर्ने भन्दै शिक्षा मन्त्री रघुजी पन्त भने मन्त्रालयमा पर्खिरहेका छन्।
मन्त्रालय स्रोतका अनुसार मन्त्री पन्तले शिक्षकका नेता बिहानै वार्ताका लागि मन्त्रालय आउने अपेक्षा गरेका थिए। सोहीअनुसार उनी बिहानैदेखि मन्त्रालयमा तयारी अवस्थामा बसेको मन्त्रालयका एक अधिकारीले बताए। तर, अहिलेसम्म पर्खिदा पनि उनी चिन्तित देखिएको ती अधिकारीले बताए।
सोमबार राति अबेरसम्म भएको वार्तामा सकारात्मक भएको मन्त्री पन्तको बुझाइ थियो। शिक्षकहरू मंगलबार पुन वार्ता गरेर निचोडमा पुग्ने भन्दै निस्किएका थिए। तर आज भने अहिलेसम्म मन्त्रालय नपुगेको ति अधिकारीले बताए।
‘हिजो राति अबेरसम्म भएको वार्ता सहमतिनजिक पुगेको थियो। शिक्षकज्युहरुले नै मंगलबार बसेर टुंगो लगाउने भन्नुभएको थियो,’ ती अधिकारीले भने, ‘तर अहिलेसम्म उहाँहरुको अत्तो पत्तो छैन। तैपनि मन्त्री ज्यु कुरिरहनुभएको छ, राति नै भए पनि वार्ता गरेर उहाँहरुलाई विद्यालय फर्काउने वातावरण बनाउने उहाँको चाहना छ।’
प्रकाशित: १६ वैशाख २०८२ १७:३० मंगलबार





