३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

सहिद परिवारसँग दाहालले भने, 'हामीले तपाईंहरुका पीडा बिर्सेका छैनौं'

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सहिद परिवारका माग र पीडालाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् । समस्या केन्द्र सरकारसम्मै पुर्‍याएर भएपनि समाधान गर्ने उनको भनाइ थियो ।  

धनगढी उपमहानगरपालिका–१८ फुलबारी डिपो बजारमा सहिद परिवारसँग भेटघाट तथा अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले अहिले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार देशभर सहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारसँग कुराकानी भइरहेको जानकारी दिए । दाहालले भने, “प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरिएको थियो, जुन सहिद, बेपत्ता र योगदान दिने सबैको सम्मानको विषय हो ।”  

अदालतको आदेशका कारण रोकिए पनि पार्टी अझै त्यसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने पक्षमा रहेको उनको भनाइ थियो । सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, सिफारिस समिति बनेको र त्यसको आधारमा आयोग बन्ने प्रक्रियाले गति लिएको उनको भनाइ थियो ।  

आयोग बनेपछि राज्यले सहिद तथा बेपत्ताका नाममा प्रमाणित मान्यता दिने, स्मृति पार्क निर्माण गर्ने, प्रमाणपत्र वितरण गर्ने व्यवस्था गरिनेछ। साथै, कम्तीमा एक जना परिवार सदस्यलाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको दाहालको भनाइ थियो ।  

सशस्त्र युद्धमा समर्पित परिवारको योगदानको स्मरण गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, “हामीले तपाईंहरूका पीडा बिर्सेका छैनौं, बिर्सने पनि छैनौं।”

प्रकाशित: १६ वैशाख २०८२ १६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App