प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अनियमितताबारे ल्याएको प्रतिवेदनप्रति संसदमा असन्तुष्टि सुनिएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले प्रतिवेदनमाथि असन्तुष्टि पोखेका छन्।
‘यो पोखराप्रति किन निर्मम हुन खोज्नुभएको छ?,’ सांसद पौडेलले भने, ‘पोखरा अहिले भ्रमण वर्ष भनिएको छ, पर्यटकीय राजधानी भनिएको छ। सँगसँगै अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुन लागेको छ।’
सरकारले विभिन्न देश र एयरलाइन्स कम्पनीसँग सम्झौता गर्ने वातावरण बनाउन लागिरहेका बेला फन्डा निकालेर विवाद निकालिएको सांसद पौडेलले आरोप लगाए। ‘..फेरि कमिसन छ, भ्रष्टाचार छ। आयो त प्रतिवेदन अंक त कमसेकम अंक त गोडेर हेर्नुपर्यो, तथ्य त हेर्नुपर्यो,’ उनले भने।
पूर्व मन्त्री भइसकेका, पार्टीका अध्यक्षहरू बोल्दाखेरि होसियारीपूर्वक बोल्न उनले आग्रह गरे।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको उपसमितिले सोमबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पोखरा विमानस्थल निर्माणमा अनियमितताबारेको छानबिन प्रतिवेदन बुझाएका थियो। जसमा २२ अर्ब अनियमितता भएको उल्लेख थियो।
प्रकाशित: १६ वैशाख २०८२ १३:४५ मंगलबार





