नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले पूर्व प्रधानमन्त्रीहरु नै शिक्षकहरुको आन्दोलन भड्काउने र मागहरुलाई अन्तै मोड्न लागिपरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन्।
‘२८ दिनदेखि हज्जारौँ शिक्षक सडकमा हुनुहुन्छ। उहाँका माग जायज छन् भनेर सरकारले अपनत्व लिइसकेको मैले बुझेको छु,’ सांसद पौडेलले भने, ‘सरकारले आजभोलिमा ती समस्या समाधान गर्ने र निष्कर्षमा पुग्नेगरी वार्ता गरिरहेको छ ।’
सांसद पौडेलले शिक्षकको आन्दोलन शान्तिपूर्ण र रचनात्मक ढंगले भइरहेकोमा १४ गते एक्कासी घटना भएको बताए। उनले भने, ‘त्यो घटना उकासेको पनि देखियो।’
त्यतिमात्र नभई हिजो (सोमबार) त पूर्व प्रधानमन्त्रीको फोटो पनि देखिएको उनले बताए। ‘त्यसले के देखायो भने यहाँ चर्काचर्का कुरा गर्ने, त्यहाँ गएर उकास्ने गरेको हो भन्ने हो देखियो। पूर्वप्रधानमन्त्रीहरुको पनि तरिका राम्रो देखिएन,’ पौडेलले भने।
यसले शिक्षक आन्दोलनलाई भड्काउने र मागहरुलाई अन्त मोड्ने र माग पूरा हुन नदिने को हो भन्ने पनि देखिएको उनले बताए।
प्रकाशित: १६ वैशाख २०८२ १३:२७ मंगलबार





