गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहसम्म आपत्कालीन गोदाम घर स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री लेखकले विपद्मा सबैभन्दा बढी स्थानीय तह नजिक हुने गरेको भन्दै त्यसलाई मजबुत बनाउन आवश्यक रहेको बताएका हुन्।
‘काठमाडौंमा तपाई हामी बसेर नीति निर्माण गर्ने हो,’ गृहमन्त्री लेखकले भने,‘तर यसलाई लागू गर्ने भनेको स्थानीय तहले नै हो।’ उनले हरेक स्थानीय तहमा आपत्कालीन गोदाम घर स्थापना गरेर त्यस आधारभूत सामाग्रीहरू राख्नुपर्ने बताए।
‘प्रत्येक पालिकामा गोदाम घर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन् नि त्यो कार्यालयको एउटा कोठालाई गोदाम घर बनेर तोकिदिए हुन्छ,’ गृहमन्त्री लेखकले भने।
त्यसमा आधारभूत सामाग्री राख्नुपर्ने र जसमा संघ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्न उनले प्रस्ताव राखे। उनले भने, ‘तर आधार स्थानीयलाई बनाऔँ । हामी सबै त्यसमा जुट्नुपर्छ ।’
उनले चार वटा प्रदेशमा आपत्कालीन गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै काठमाडौं बाहेक अन्य गोदाम घर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए।
‘प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदाम घरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमामा प्राधिकरणसित समन्वय गर्नुपर्ने स्थिती थियो,’ उनले भने, ‘अहिले नीतिगत निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदाम घर हस्तान्तरण गरिँने काम भएको छ।’
प्रकाशित: १४ वैशाख २०८२ १६:३२ आइतबार





