मकवानपुरको हेटौंडामा चेकजाँचका क्रममा सुमो गाडीको टायरभित्र लुकाएर राखिएको २२५ बोतल लागूऔषध फेला परेको छ। प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
शनिबार बिहान करिब ६ः०५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्गस्थित रातोमाटे चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा मधेश प्रदेश ०३–००१ ज ४५१ नम्बरको सुमो गाडी जाँच गर्दा लागूऔषध भेटिएको हो।
अमलेखगञ्ज, बाराबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडीका चालक पर्सा बहुदरमाई नगरपालिका–९ का २४ वर्षीय मुम्ताज मियालाई शंका लागेर जाँच गर्दा, गाडीको छतमा जगेडा टायरभित्र प्वाल पारी लुकाएर राखिएको अवस्थामा ओनरेक्सका १०० एमएलका २२५ बोतल फेला परेको प्रहरीले जनाएको छ।
लागूऔषध, गाडी र चालक मुम्ताज मियालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट पाँच दिनको म्याद अनुमति लिइएको प्रहरीले जनाएको छ।
यस विषयमा थप अनुसन्धान जारी रहेको छ।
प्रकाशित: ९ वैशाख २०८२ १६:५७ मंगलबार





