९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

‘माओवादी सिद्धियो भन्छन्, हामी थाकेका छैनौं’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनप्रति जनताको विश्वास अझै कायम रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरूले ‘माओवादी सिद्धियो’ भन्ने प्रचार गरे पनि जनताको समर्थनले माओवादी सधैँ उठ्ने दाबी गरे।

दाहालले जनयुद्धको समयमा पनि यस्तै नकारात्मक प्रचारको सामना गर्दै माओवादीले सफलता हासिल गरेको स्मरण गरे। “हामीलाई सधैँ अपमानित गर्न खोजिन्छ, तर हामी जनताको साथ लिएर उठ्छौँ। यो ऐतिहासिक सत्य हो,” उनले भने।

उनले कम्युनिस्ट आन्दोलनप्रति अझै दुई तिहाइभन्दा बढी जनमत रहेको र जनताले कम्युनिस्टहरूबाट राम्रो कामको अपेक्षा गरेको उल्लेख गरे।

कम्युनिस्ट आन्दोलनमा देखिएको टुटफुट र विभाजनप्रति चिन्ता व्यक्त गर्दै दाहालले सही कार्यशैली, सङ्गठन र संस्कारका आधारमा आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताए।

उनले विगतका कमजोरी सुधारेर जनतामाझ जानु नै सच्चा कम्युनिस्टको कर्तव्य भएको जिकिर गरे।

माओवादी अन्य दलभन्दा भिन्न रहेको दाबी गर्दै दाहालले समाजवादी क्रान्तिको नेतृत्वका लागि सच्चा कम्युनिस्टहरूको एकता अपरिहार्य रहेको बताए। “हामीले एकताको सङ्कल्पलाई छाडेका छैनौँ र छाड्ने पनि छैनौँ,” उनले थपे।

प्रकाशित: ९ वैशाख २०८२ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App