१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

'५० लाख नदिएपछि सुरेन्द्र सांसद भएनन्, अरु पनि पैसा बुझाएरै सांसद बनेका हुन्'

डा.चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव आइतबार (हिजो) राजविराजबाट पक्राउ परे। जनमतकै नेताहरूले दिएको जाहेरीका आधारमा यादव पक्राउ परेका हुन्।

यादव पक्राउ परेपछि राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले भने नयाँ तथ्य बाहिर ल्याइदिएका छन्। 'करोडौं खर्चेर जनकपुरमा निर्माण गरिएको घरपछि पनि समानुपातिक सूचीमा समावेश गराउन उहाँ (सुरेन्द्र यादव) सँग रू. ५० लाख मागिनु अत्यन्तै दुखद् र अपारदर्शी व्यवहार हो,' साहले भनेका छन्। स्मरण रहोस्- साह र यादव दुबैलाई पार्टीले निलम्बन गरिसकेको हो।

साहले यादवले कतार बसेर सङ्गठन बनाउने काम गरेको, पार्टीको नाममा सम्पत्ति जोड्ने काम गरेको, अध्यक्ष डा. सीके राउतको व्यक्तिगत सहजताका लागि पनि काम गरेको उल्लेख गरेका छन्। तर, अहिले आएर व्यक्तिगत तहमा ओर्लिएर उनका प्रति नकारात्मक व्यवहार गरिएको आरोप साहको छ।

कोषाध्यक्ष भए पनि पार्टीको आर्थिक कारोबार यादवमार्फत नभएको कुरा साहले बताएका छन्। 'पार्टी कोषाध्यक्षको नाममा कुनै पनि बैंक खाता नखोली अवैध रूपमा आर्थिक कारोबार हुनु गम्भीर प्रश्नको विषय हो,' उनले भनेका छन्।

यादव पक्राउ परेपछि १० बुँदे धारणा सार्वजनिक गरेका साहले स्वयम् राउतले नै भ्रष्टाचार गरेको आरोप लगाएका छन्। उनले सांसद बनेको केही समयमा नै ललितपुरको इमाडोलमा घर बनाउन वा किन्न सकिन्छ भनेर प्रश्न उठाएका छन्।

यो पनि पढ्नुहोस्

ठगी आरोपमा जनमतको कोषाध्यक्ष यादव पक्राउ

'मधेश लोट चले भन्ने नारा दिँदै सांसद बनेपछि इमाडोलमा भव्य घर र पार्किङ्गको लागि छुट्टै जग्गा खरिद गर्नुमा भ्रष्टाचारको गम्भीर आशङ्का छ। सत्य-तथ्यको निष्पक्ष छानबिन अपरिहार्य छ,' उनले भनेका छन्।

चन्द्रकान्त राउत र दीपक कुमार साह।

साहले यी यावत् आरोपहरू लगाएपछि हामीले जनमतकै अर्का एक नेतालाई सम्पर्क गर्‍यौँ। ती नेताले आफूसँग प्रमाण नभएको तर, राउतले सांसद पदसम्म पैसामै बेचेको आरोप लगाए।

पछिल्लो संसदीय निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक सांसद बनेका पाँचै जनाले ३०/३० लाखका दरले राउतलाई बुझाएको ती नेताले खुलासा गरे। सुरुमा राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव नै सांसद बन्ने तयारीमा रहेको तर,५० लाख बुझाउन नसकेपछि उनी पछि हटेको ती नेता बताउँछन्।

'उहाँ (सुरेन्द्र नारायण यादव) ले भन्दा अगाडि अनिता साहले बुझाउनुभएछ, त्यो भएर उहाँ नै सांसद बन्नुभयो,' ती नेताले भने, 'अरु सबै सांसदले पैसा बुझाएरै आउनुभएको हो। उहाँहरू सबैले हातमा दिनुभयो, त्यो भएर कुनै प्रमाण भेटिँदैन। सुरुमा ३० र पछि ५० पुर्‍याएका थिए।'

ती नेताका अनुसार अब्दुल खानले भने मन्त्री भएपछि बुझाएका हुन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा खान खानेपानीमन्त्री थिए। उनले त्यसैबेला राउतलाई पैसा बुझाएको ती नेताको दाबी छ।

त्यसो त यसअघि अर्की समानुपातिक सांसद गोमा लाभ सापकोटाले दिएको ११ लाख रकमको बैंक स्लीप नै सार्वजनिक भएको थियो। 

यो पनि पढ्नुहोस्

लाभको पद : ११ लाख पैसा बुझाएर सांसद, निर्वाचन आयोग सामु नाजवाफ

प्रकाशित: ८ वैशाख २०८२ १६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App