नेकपा एमालेका महासचिव शंकर पोखरेलले विद्यालय शिक्षा ऐन पास हुने कुरामा ढुक्क हुन आन्दोलनरत शिक्षकलाई आग्रह गरेका छन्। यस्तै उक्त ऐन ल्याउने जिम्मेवारी लामो समय सम्हालेको माओवादी केन्द्रसँग अहिले सरकारलाई दोष दिएर पन्छिन खोजेको पनि उनको आरोप छ।
‘विद्यालय शिक्षा ऐन अब पास नहुने कुरा छैन–ढुक्क होऔँ,’ महासचिव पोखरेलले शनिवार फेसबुकमा लेखेका छन्,‘विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग थियो। तर अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै पानी माथिको ओभानो बन्ने प्रयास लाजमर्दो छ।’
वर्तमान सरकार बनेको एक वर्ष पनि नपुगेको उल्लेख गर्दै उनले विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको उल्लेख गरेका छन्। ‘अहिलेको सरकारले विगतमा नभएका पहलहरू गरिरहेको छ, जसको समर्थन गर्नु जरुरी छ,’ पोखरेलले लेखेका छन्।
माओवादी केन्द्रले आलोचना होइन, निःशर्त सहयोग गर्नुपर्ने पनि उनले लेखेका छन्। ‘आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्छ,’ उनले अगाडि लेखेका छन्, ‘आन्दोलनरत शिक्षकहरूले पनि यथार्थ बुझ्नुपर्छ–जो काम गर्न खोज्दै छ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन।’
विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित नभएको पोखरेलले भनेका छन्। शिक्षा ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको र वैशाख १२ गतेबाट सुरु हुने संसद्को अधिवेशनमा यो प्राथमिकतामा रहेको पनि उल्लेख गरेका छन्।
‘अब सबै पक्ष जिम्मेवार बनौँ। सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौँ। शिक्षा हाम्रो साझा भविष्य हो–यसलाई दलीय राजनीतिक स्वार्थको विषय नबनाऔँ,’ महासचिव पोखरेलले लेखेका छन्।
प्रकाशित: ६ वैशाख २०८२ २०:०० शनिबार





