१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

देशमा धेरै सम्भावना हुँदा पनि गाउँ रित्तो भए, युवा पलायन बढ्यो : नेता कोइराला

नेपाली कांग्रेसका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र क्यालेण्डर लोकार्पण’ कार्यक्रममा नेताहरुले संविधानको रक्षा र कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरु एकीकृत भएर अगाडि बढ्नुपर्ने बताए।

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताए। उनले भने, ‘अहिले गाउँ रित्तो भएको छ, युवाहरु विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ, त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ।’

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले अन्य शक्तिसँग प्रतिस्पर्धा गर्न कांग्रेस आफैँ सङ्गठनात्मक रुपमा बलियो हुनुपर्ने बताइन्। ‘कांग्रेसले आफूलाई कमजोर बनाउनु हुँदैन, वादविवाद गरेर होइन, एकीकृत भएर पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने बेला आएको छ, कांग्रेसभित्रको एकता बलियो भएको खण्डमा मात्रै अरुसँग प्रतिस्पर्धा गर्न सकिन्छ,’ महिला विभाग प्रमुख भुसालले भनिन्।

कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पछिल्लो समय दलहरुप्रति जनताको निराशा बढ्दै गएको उल्लेख गर्दै दलहरु सुध्रिनुपर्ने बताए। उनले भने, ‘चैत १५ गते राजावादी भन्नेहरुले तीनकुनेमा अशान्ति मच्चाए, गणतन्त्रलाई संस्थागत गर्न पूर्वराजाको सुविधा कटौती गर्दै लैजानुपर्छ, उनको सम्पत्तिको छानबिन गर्नुपर्छ।’ रासस

प्रकाशित: ६ वैशाख २०८२ १६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App