राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति पार्टी राजनीतिमा फर्किएको विषयमा कटु टिप्पणी गरेका छन्। शनिवार राजावादीहरूले आयोजना गरेको ‘पृथ्वी पथको आवश्यकता विषयक’ कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता नेपालले यस्तो बताएका हुन्।
‘म प्रमाणित गर्छु–दास र रैती भनेका दलका कार्यकर्ता हुन्। म प्रमाणित गर्छु–दास भनेको विद्या भण्डारी हो। दास भनेको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन हो,’ नेपालले भने, ‘दलको दास भएर राष्ट्रपति भइसकेपछि पनि दलकै दास हुन जानुभयो र पार्टीको कार्यकर्ता हुन जानुभयो। उपराष्ट्रपति भइसकेर पनि दलकै रैती हुनुभयो।’
देशलाई राष्ट्रप्रमुख कुनै पनि दलको सदस्य नहुने पात्र चाहिएको उनले बताए। ‘जो दलको रैती हुँदैन, दलको दास हुँदैन त्यस्तो राष्ट्रप्रमुख देशलाई चाहिएको छ, दलको रैती नबनेर सम्पूर्ण देशको साझा व्यक्ति चाहिएको छ,’ उनले भने,‘यी रैती र दासबाट मुक्ति गर्न राजसंस्था चाहिएको छ।’
त्यसपछि उनी केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई पशुपतिका बाँदरसँग तुलना गरेको प्रसङ्गमा प्रवेश गरे । उनले भने, ‘बरु बाँदर जाति विकसित भएर मान्छे हुन सक्यो, कार्यकर्ता कहिल्यै मान्छे हुन सक्दो रहेनछ। विद्या भण्डारीले पुष्टि गर्नुभयो। पूर्व राष्ट्रपति पुष्टि गर्नुभयो।’
प्रकाशित: ६ वैशाख २०८२ १५:२७ शनिबार





