सरकारले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने नीति लिए पनि पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण नभएकामा राष्ट्रपतिले चिन्ता व्यक्त गरेका छन्। ‘नगरकोट भ्रमण वर्ष २०८२’ उद्घाटन गर्न सोमबार भक्तपुरको नगरकोट पुगेका उनले पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार विस्तार र सहज आवागमनका लागि सडक स्तरोन्नतिमा ध्यान दिनु जरुरी रहेको बताए।
रामचन्द्र पौडेलले दशक अघिदेखि निर्माण पूरा हुन नसकेको भक्तपुर नगरकोट सडकको दुरवस्थाबारे चिन्ता व्यक्त गरे। भक्तपुरदेखि नगरकोट पुग्ने सडक एक दशकभन्दा अगाडिदेखि नै खाल्डाखुल्डीमय छ। यही सडक भएर सोमबार उनी नगरकोट पुगेका थिए।
पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने उनले बताए। राष्ट्रपति पौडेलले काठमाडौंको उकुसमुकुसबाट उम्किएर प्रकृतिमय क्षण व्यतीत गर्ने उत्कट चाहना राख्नेका लागि नगरकोट नजिकको रोजाइ स्थल भएको बताउँदै यो संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि पनि गौरव र सान भएको उल्लेख गरे।
यसले देश–विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योगदान दिएको पनि उनले बताए। ‘यसलाई अझै विकसित, आधुनिक र सुविधा सम्पन्न बनाउन स्थानीय, उद्यमी, पर्यटन व्यवसायीसहित संघ, प्रदेश सरकार र विशेषत: यहाँका चारैवटा नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु,’ उनले भने।
राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमशृंखला, सूर्योदय र सूर्यास्त एवं सुन्दर काठमाडौं उपत्यका अवलोकनका लागि स्वदेशी–विदेशी पर्यटकबिच नगरकोटको महिमा अधिक रहेको उल्लेख गर्दै यसको निकटमा अवस्थित विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसंग जोडिएको महादेव पोखरी, मञ्जुश्री गुफा, ऐतिहासिक भंगेरी र पुतली दरबार, शंखरापुर नगरपालिकाको प्रसिद्ध शाली नदी तथा बज्रयोगिनी माईको मन्दिर एवं साँखु बजारको ऐतिहासिक, पुरातात्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रामार्गले यहाँको पर्यटकीय गतिविधि बढाएको पनि बताए।
राष्ट्रपति पौडेलले नगरकोटलाई मूलबिन्दु बनाएर चारवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रका सम्पदा एवम् ऐतिहासिक स्थलको प्रवर्द्धन गर्न अगाडि बढ्नु प्रशंसनीय रहेको उल्लेख गरे। राष्ट्रपति पौडेलले नयाँ वर्ष २०८२ का अवसरमा जनताको चाहना अनुरूप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्रनिर्माणको अभियानमा जुट्न यो दिनले सबैलाई प्रेरणा देओस् भन्ने कामना पनि गरे।
राष्ट्रपति पौडेलले अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्नुपर्ने बताए। नगरकोटको बतासे डाँडामा आयोजना गरिएको कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताए।
‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो,’ उनले भने, ‘आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसर सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो। उनले रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादन लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गरी औद्योगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरुरी भएको बताए। उनले भने, ‘न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको साझा दायित्व हो।’
राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक र धार्मिक धरोहरलाई आर्थिक विकासमा रूपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने औंल्याउँदै यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको बताए। उनले थपे, ‘पर्यटकीय उपजहरूको व्यवसायिकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नगरकोटको ऐतिहासिक, सम्पदा, पर्यटकीय स्थललगायतको महत्व अधिक रहेको चर्चा गर्दै नगरकोट भ्रमण वर्षले नगरकोटसँग जोडिएका चार पालिकासँगै धुलिखेल, पनौती, नमोबुद्ध, शिवपुरी, चन्द्रागिरिसम्म पनि पर्यटन विकास हुने बताए। संघीय सांसद एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले नगरकोट हिमाल, सूर्योदय, सूर्यास्त हेर्न मात्रै नभई स्काई पर्यटन र काभ्रेमा जल पर्यटन सुरु गर्न लागेको बताए। बागमती प्रदेशका संस्कृति, पर्यटनमन्त्री विमल ठकुरीले नगरकोटमा पर्यटक भित्र्याउन यो कार्यक्रम कोसेढुंगा सावित हुने बताए।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटलाई केन्द्रबिन्दु बनाएर सुरु भएको भ्रमण वर्षले नगरकोटको मात्रै नभई देशभरकै आर्थिक विकासलाई चलायमान बनाउने बताए। उनले नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग राखे। काभ्रेको मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, काभ्रेकै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शंखरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षले यहाँको आर्थिक विकासमा टेवा पुग्ने बताए।
प्रकाशित: २ वैशाख २०८२ ०६:५० मंगलबार


-600x400.jpg)


