गत चैत ३ गते नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले सरकार फेरिन सक्ने मात्रै बताएनन्,प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँग संवाद गरिरहेको पनि सुनाए।
ठीक त्यही पेरिफेरी कांग्रेस नेताहरू प्रधानमन्त्री केपी शर्माका प्रति खनिन थालेका थिए। डा. शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, एनपी साउदलगायतका नेताहरूले प्रधानमन्त्री ओलीको आलोचना गर्दै सरकारले कार्यशैली नफेरे फरक तरिकाले सोच्नुपर्ने हुनसक्ने बताउँदै थिए।
त्यही पृष्ठभूमिमा दाहालले दिएको अभिव्यक्तिले अलि भाउ पायो। धेरैले 'केही हुँदैछ?' भन्ने कोणबाट विश्लेषण गरे,मिडिया रिपोर्ट तयार पारे। तर, एक महिना बित्दासम्म दाहालले भनेजस्तो त्यस्तो केही देखिएको छैन।
फेरि बिहीबार (हिजो) मात्रै माओवादी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तै प्रकृतिको, अझ चर्को अर्को अभिव्यक्ति दिए। उनले भनेका छन्, 'सरकार कुनै पनि बेला परिवर्तन हुन सक्छ। समय त तोक्दिनँ तर, केपी ओलीजीले एक वर्षे कार्यकाल पूरा गर्नुहुन्छ जस्तो लाग्दैन।'
यसपछि फेरि 'भित्र केही भइरहेको हो कि के हो ?' भन्ने जिज्ञासा स्वाभाविक रूपमा उठेको छ। दाहालले यस्तो अभिव्यक्ति दिएको एक दिनपछि अर्थात् शुक्रबार (आज) रुपन्देहीको बुटवल पुगेका प्रधानमन्त्री ओलीले सरकार ढल्दै नढल्ने बताए।
‘यो सरकार ढल्छ भन्ने कुरै छोडिदिनुस्। हल्लिँदा पनि हल्लिँदैन,’ उनले भने, ‘मुलुकमा धेरै खाले समस्या छन्, अप्ठ्यारा छन्, तिनको समाधानका लागि यो सरकार बनेको हो।’हुनसक्छ, दाहालले त्यस्तो अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डनस्वरूप उनले यस्तो बताएका हुन्।
पार्टी अध्यक्ष दाहाल र नेताहरूको भनाइबारे नागरिकले माओवादी केन्द्रका महासचिव देव गुरुङसँग सोध्यो- अध्यक्ष र नेताहरूले के भन्न खोज्नुभएको ? तपाईंहरू सरकार परिवर्तनको प्रयासमा लाग्नुभएको हो ?
गुरुङको भनाइमा पनि सरकार टिकिरहन्छ भन्ने छैन। 'तरलता छ, यस्तो बेलामा सरकार टिकिरहन्छ भनेर कसरी भन्न सकिन्छ ?'
तर, आफूहरू सरकार परिवर्तनको खेलमा भने नलागेको उनले प्रष्टोक्ति दिए। आफूहरूले सरकार चलिरहोस् नै भन्ने चाहेको तर, सरकार टिकिरहने आधार नदेखिएको उनको भनाइ छ। 'सरकार परिवर्तन गरेर हामीले के पाउनु छ र,हामीले त यो सरकार चलिरहोस् भन्ने नै लागेको छ। तर, टिकिरहने आधार भने देखिँदैन।'
यो पनि पढ्नुहोस्
दाहाल भन्छन्- सरकार कुनै पनि बेला परिवर्तन हुन सक्छ
प्रकाशित: २९ चैत्र २०८१ २०:५२ शुक्रबार