३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

असनको स्मारक इत:चपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब: मेयर शाह

फाइल तस्बिर

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सत्रौँ शताब्दीमा असनमा निर्माण भएको स्मारक इत:चपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब पनि भएको प्रतिक्रिया दिएका छन्।

शुक्रबार स्मारक इत:चपा पुनर्निर्माण एक भिडियो सेयर गर्दै उनले स्मारक इत:चपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब पनि भएको बताएका हुन्।

'केही बर्ष पहिले कोभिडको बेला क्वारेन्टाइन शब्द यति प्रचलित थियो कि अझ पनि याद हुनु पर्छ । त्यस्तै क्वारेन्टाइन ३००-४०० बर्ष पहिले नि थियो , भोटमा व्यापार गरेर फर्किएकाहरूका लागि हुन्थ्यो । असनबाट बालकुमारीतर्फ अन्नपूर्ण मन्दिरसँगै रहेको स्मारक इत:चपा सत्रौँ शताब्दीमा निर्माण भएको संरचना हो,' उनले लेखेका छन्, 'यो खासगरि नेपाल मण्डलबाट व्यापारका लागि भोट गएर फर्किने व्यापारीहरूका लागि निर्माण गरिएको मानिन्छ । परदेशमा गएर आउँदा आफूसँगै रोगव्याध आउन सक्छ, फर्किनेवित्तिकै परिवारसँग भेट गर्नु हुँदैन भनेर भोटमा व्यापार गरेर फर्किनेहरूले १५ दिन यहाँ क्वारेनटिन बस्नु पर्थ्यो । त्यसपछि भोटाहिटीमा नुहाएपछि मात्र घर जान पाइन्थ्यो । यसरी हेर्दा इत:चपा तत्कालीन समयमा सामाजिक चेतनाको विम्ब पनि हो ।'

उनले सो समयमा सामाजिक चेतना प्रकट गराउने संरचना जीर्ण भएर प्रयोगविहीन भएको र यसले पैदल यात्रीहरूलाई समेत जोखिममा पारेको बताएका छन्। यो अवस्थामा रहेको संरचनालाई पुन:निर्माण गरेर अहिले मौलिक स्वरूपमा फर्काइएको उनको भनाइ छ।

त्यो समयको हाम्रो सामाजिक चेतना प्रकट गराउने यो संरचना जीर्ण भएर प्रयोगविहीन थियो । यसले पैदल यात्रीहरूलाई समेत जोखिममा पारेको थियो । यो अवस्थामा रहेको संरचनालाई पुन:निर्माण गरेर अहिले मौलिक स्वरूपमा फर्काइएको छ । सत्तलको अगाडिपट्टि पसलकवल छन् । पछाडिपट्टि भजन गर्ने स्थान र नास द्य:छेँ रहेका छन् । अभिलेखहरूमा सत्रौँ शताब्दीभन्दा अगाडि नै यसको निर्माण भएको पाइएको छ । 

प्रकाशित: २९ चैत्र २०८१ १८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App