जय नेपाल इन्टरन्याशनल फाउन्डेसनले नयाँ वर्षको अवसरमा विश्वभरका नेपाली माझ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्न लागेको छ।
जय नेपाल इन्टरनेशनल फाउन्डेसनको ग्लोबल युथ नेटवर्कले भर्चुअल माध्यमबाट नयाँ वर्ष २०८२ को स्वागतसँगै शुभकामना आदानप्रदान गर्ने कार्यक्रम राखेको छ। अप्रिल १२, २०२५ मा भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान गरिने फाउन्डेसनका प्रवक्ता लालप्रसाद काफ्लेले बताए।
उनका अनुसार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको प्रमुख आतिथ्ययतामा कार्यक्रम आयोजना गर्न लागिएको हो। डा. कोइरालासहित नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउद र कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्ने छन्। उक्त कार्यक्रमको माध्यमबाट संसारभरिका नेपालीहरूलाई एकत्रित बनाउन खोजिएको जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले बताए।
मानव अधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरूको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको हो। फाउन्डेसनले विश्वभरिका युवाहरूको सञ्जाल 'ग्लोबल युथ नेटवर्क ', महिलाहरूको 'ग्लोबल विमन नेटवर्क,' सञ्चारकर्मीहरूको 'ग्लोबल मिडिया नेटवर्क,' विज्ञहरूको 'ग्लोबल नलेज नेटवर्क ' र खेलाडीहरूको 'ग्लोबल स्पोर्ट नेटवर्क ' मार्फत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
फाउन्डेसनका अमेरिका र अन्य देशमा गरेर ३८ च्याप्टर घोषणा भैसकेका छन्। देश तथा विदेशमा रहेका नेपालीहरूका बिचमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वेबिनार राखिएको हुँदा सबैलाई जोडिनको लागि अध्यक्ष डा. यादव पण्डितले अनुरोध गरेका छन्।
प्रकाशित: २९ चैत्र २०८१ ०९:२५ शुक्रबार

