२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

भण्डारी समक्ष गगनले भने: दाइ अल्मलिनुहोला भन्ने डर छ, छोड्न सक्दैनाैँ भन्न गुल्मी आयौँ

हालसम्म नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको मितिको टुङ्गो लागिसकेको छैन। महाधिवेशनको मितिका विषयमा पार्टीभित्र विभिन्न किसिमका मतमतान्तर चलिरहेकै छन्। तर, नेताहरूलाई भने महाधिवेशनले छपक्कै छोपिसकेको छ।

विशेष गरी १४ औँ महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका डा. शेखर कोइराला उम्मेदवारी घोषणा गरेरै मैदानमा उत्रिसकेका छन्। उनी अहिले मौका मिलाएर जिल्ला दौडाहा गर्नेदेखि नेता कार्यकर्ता रिझाउन लागिपरेका छन्।

अर्कातिर १४ औँ महाधिवेशनमा कोइरालाकै प्यानलमा रहेर महामन्त्री जितेका गगन थापा पनि सभापति पदका आकाङ्क्षी छन्। उनले आधिकारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि आफ्नो तयारीको गति निरन्तर बढाइरहेका छन्। 

यता अघिल्लो पटक एउटै रहेर सभापति र महामन्त्रीको उम्मेदवार बनेका शेखर र गगन दुवै १५ औँ महाधिवेशनमा सभापतिको तयारी गर्दा उनीहरू बिचको दुरी निकै बढिसकेको स्रोत बताउँछ।

जसले १४ औँ महाधिवेशनमा बनेको शेखर–गगन समूह पनि विभाजनको संघारमा छ। हालसम्म घोषित रूपमै विभाजन नभइसके पनि नेताहरूले कित्ताकाट सुरु गरिसकेका छन्। धेरैजसो नेताहरूले ‘लाइन क्लियर’ नै गरिसकेको अवस्था छ। 

यस्तोमा केही नेता भने मझधारमा छन्। तीनैमध्येका एक हुन्– डा.चन्द्र भण्डारी। भण्डारी १४ औँ महाधिवेशनमा शेखर–गगन समूहबाटै उपसभापतिका प्रत्याशी बनेका थिए, तर उनी पराजित भए। उनी पछिल्लो समयका लोकप्रिय नेता पनि मानिन्छन्। 

मङ्गलवार गुल्मी कांग्रेसको जिल्ला सम्मेलनमा स्वयं भण्डारीले नै आफूलाई ‘कित्ता क्लियर’ गर्न कठिनाइ भइरहेको जनाउ दिने गरी अभिव्यक्ति दिए। भण्डारी गुल्मीकै स्थानीय बासिन्दा र गुल्मी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन्। 

जिल्ला सम्मेलनमा प्रमुख अतिथि महामन्त्री थापा थिए र सोही समारोहमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि सहभागी थिए। जसमा भण्डारीले महामन्त्रीद्वयले आफूलाई छोड्न सहज भए पनि आफूलाई कठिन भइरहेको बताएका थिए।  

भण्डारीले त्यस्तो अभिव्यक्ति दिएपछि गगनले अझ प्रस्ट हुने गरी जवाफ फर्काए। 

‘आदरणीय चन्द्र दाइसँग आज हामी दुई जना महामन्त्री सँगै आएको छौँ। चन्द्र दाइले अघि भन्नुभयो तिमिहरूले मलाई छोड्न सजिलो हुन्छ, मलाई तिमिहरूलाई छोड्न गाह्रो हुन्छ भन्नुभयो,’ महामन्त्री थापाले भने, ‘त्यो दोहोरै रहेछ। चन्द्र दाइले हामीलाई छोड्न गाह्रो भएको जस्तै हामीलाई पनि चन्द्र भण्डारीलाई छोड्न त्यत्तिकै गाह्रो हुन्छ।’ 

त्यसैले ‘हामी चन्द्र भण्डारीलाई छोड्न सक्दैनौँ है’ भन्न पनि गुल्मी पुगेको थापाले बताए। ‘दुई वटा महामन्त्री पछिल्लो समय सँगै कार्यक्रममा गइएकै छैन। तर गुल्मी किन आएको भन्दा खेरी हामी चन्द्र भण्डारीलाई छोड्न सक्दैनौँ भन्न पनि आएको हो,’ उनले भने। 

महामन्त्री थापाले भण्डारी अलमलिइदिनुहुन्छ कि भन्ने चिन्ता भएको पनि भन्न भ्याए। ‘त्यसैले दाइ पनि यो कुरामा धेरै नअलमलिनुहोला। दाइ कहिलेकाहीँ यसो अल्मलिनुहोला कि भन्ने डर हो,’ उनले भने। 

प्रकाशित: २६ चैत्र २०८१ १९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App