११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभा बैठकलाई आज विशेष सम्बोधन गर्दै छन् । अहिले केही बेरमा प्रधानमन्त्री ओलीले मधेस प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा गरेको मधेस प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सम्बोधन भएकाले संसद् सचिवालयले अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सांसदहरुलाई सूचना जारी गरेको छ । प्रधानमन्त्रीको सम्बोधनलाई मध्यनजर गर्दै मधेस प्रदेशको राजधानी  जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रधानमन्त्री ओलीको प्रदेश सभा बैठकलाई सम्बोधनपछि सिरहामा आयोजना हुने नेकपा एमालेको जिल्ला अधिवेशनलाई उद्घाटन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले जिल्ला अध्यक्ष डा. नविन कुमार यादवले बताए । सिरहामा सहिद हेमनारायण यादवको सालिकमा माल्यार्पणपछि प्रधानमन्त्री ओली सिँधै कार्यक्रम स्थल सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पसको प्राङ्गण पुग्ने कार्यक्रम छ । त्यहाँ उनले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

०७५ भदौ २ गते ओली नेपालको प्रधानमन्त्रीको हैसियतमा मधेसी दल नेतृत्वको सरकारले प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि निम्तो पाएका थिए ।  १ घन्टा ३८ मिनेटको त्यो मन्तव्यमा ओलीले मधेसमा हिँड्न बाटो सुल्झाएर फर्केका थिए ।

जनताको आधारभूत आवश्यकता पूरा गर्दै तराई मधेसमा कृषिको आधुनिकीकरण गरिने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले तराईलाई सुख्खा र मरुभूमिबाट जोगाउनुपर्ने बताउँदै कोशी–मरिन–कमला डाइभर्सन निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउने उल्लेख गरेका थिए । उनले तराईमा मल कारखाना खोल्ने पनि जानकारी दिए थिए ।  

प्रधानमन्त्री ओलीले भनेका थिए, ‘‘साँझ बिहान छाक टार्ने मात्रै कुराले मुलुक विकसित हुन सक्दैन ।’’ प्रधानमन्त्रीले तराईको सप्तरीबाट नेपाल समुद्रसँग जोडिन लागेको बताउँदै राजविराजमा मेडिकल कलेज खोल्ने, पाँच वर्षभित्र हुलाकी सडक निर्माण गर्ने, मधेस प्रदेशका ८ जिल्लामा ८ हजार घर निर्माण गर्ने लगायतका योजना सुनाएका थिए । 

प्रधानमन्त्रीले आफ्नो जीवन विभेदविरुद्ध लडेको स्मरण गर्दै नयाँ संविधानमा कुनै क्षेत्र र समुदायले विभेदको महसुस गरे संविधान संशोधन गर्न सकिने विचार व्यक्त गरेका थिए । प्रधानमन्त्रीले कुनै पनि नेपाली नागरिकताविहीन हुन नसक्ने प्रष्ट पारेका थिए ।

सभालाई विशेष सम्बोधन गर्दै ओलीले मधेस प्रदेशको मुख्य फल आँपलाई युरोप लगायतका विकसित मुलुकमा निर्यात गर्नुपर्ने बताएका थिए । तर, यसका लागि आँपको भण्डारण गर्न आवश्यक पर्ने शीत भण्डार मधेस प्रदेशमा छैन। न शीत भण्डार छ न आँप किसानलाई प्रोत्साहन गर्ने सरकारी सहयोग नै उपलब्ध हुन सकेको छ ।  

प्रधानमन्त्री ओलीले मधेस प्रदेशसभामा विशेष सम्बोधनको क्रममा मधेसको जीवन रेखा मानिने कमला नदीको पुल निर्माणका विषयमा समेत सम्बोधन गर्ने मदेसवासीको अपेक्षा छ । कमला पुल निर्माण नहुँदा मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोडिन सिरहा र सप्तरीबासी कष्टपूर्ण यात्रा गर्न बाध्य बन्दै आएका छन् । सामाजिक सञ्जालमा यस भेगका जनता प्रधानमन्त्री ओलीसँग कमला पुल निर्माणको विषयमा सम्बोधन गर्न विशेष चासो व्यक्त गरेका छन् । मधेसका जनतालाई प्रधानमन्त्रीले कमला पुल ‘उपहार’ दिए मधेस भ्रमण सार्थक हुने सिरहाका बुद्धिजीवी देवकुमार यादवले बताए ।

प्रकाशित: २६ चैत्र २०८१ १२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App