धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीलाई प्रमुख मानवीय आवश्यकता र धरानको मुख्य समस्या भएको बताएका छन्।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि पत्रकारहरूसँग कुरा गर्दै मेयर राईले सडकभन्दा पनि खानेपानी व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे।
उनले खानेपानी व्यवस्थापनका लागि करिब ५ अर्ब रुपैयाँ लाग्ने र बजेटमार्फत स्रोत जुटाउने प्रधानमन्त्रीको आश्वासन पाएको खुलाए। “आश्वासनमा शंका गर्नुहुँदैन, तर बजेटले सम्बोधन नगरे विश्वास लाग्दैन,” उनले भने।
मेयर राईले धरानमा खानेपानी मुख्य समस्या रहेको उल्लेख गर्दै सडक निर्माण दोस्रो प्राथमिकतामा राखेका छन्। “धुलो बाटोमा हिँड्न सकिन्छ, तर पानीबिना जीवन चल्दैन,” उनले भने।
उनले आफूले तीन हजार धारा थपिसकेको तर सहरीकरणसँगै माग पनि बढेको सुनाए। प्रधानमन्त्रीसँगको कुराकानीले समाधानको आशा जगाएको उनको भनाइ छ।
“जीवन रहेसम्म समस्याले छोड्दैन, तर मुख्य समस्या समाधान पहिलो प्राथमिकता हो,” राईले थपे। काठमाडौंवासीले मेलम्चीको पानी नियमित नपाएको पत्रकारको जिज्ञासामा उनले व्यंग्यात्मक जवाफ दिए, “श्रमदान गर्न आउनुपर्यो कि !”
धरानको खानेपानी समस्यालाई बजेटले सम्बोधन गरेमा ठोस प्रगति हुने उनको अपेक्षा छ।
प्रकाशित: २५ चैत्र २०८१ १९:५८ सोमबार