तीनकुने घटना राजनीतिक नभएर अराजनीतिक भएकाले सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उक्त घटनाका बारेमा सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताएका हुन् । घटनामा कुनैपनि राजनीतिक क्रियाकलाप नदेखिएको सांसदहरुको भनाइ छ ।
लुटपाट, आगजनी तथा हिंसक घटना भएकाले देशको देशको दिशा कतातिर जाँदैछ भन्ने निर्धारण गर्नसक्ने भएकाले सरकार संयमित हुनुपर्ने सांसदहरुले बताएका छन् । नेपाल समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले तीनकुने घटनामा आयोजकले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि हिंसात्मक गतिविधि गरेकाले सैह्य नहुने बताए। उनले राजतन्त्र अन्त्य गर्न विगतमा दलहरुले घोषणा गरेरै सशस्त्र विद्रोह गरेको उदाहरण दिँदै राजावादीहरुले व्यवस्था परिवर्तन गर्नै खोजेका हुन् भने सशस्त्र विद्रोह गर्न चुनौती दिए।
उनले भने, ‘जसरी हिजो राजतन्त्र फाल्नलाई भनेर दलहरुले सशस्त्र आन्दोलन र विद्रोह गरेकै हो घोषणै गरेर । यदि हो भने राजावादी पनि आउनु प¥यो कि हामी सशस्त्र विद्रोह हिंसा गरेरै बदलिन्छौ । त्यसो भएपछि एउटा कुरा हुन्छ । तर भन्ने शान्तिपूर्ण गर्ने हिंसात्मक गतिविधि, अराजक गतिविधि । त्यो सैह्य हुन सक्दैन । जे घोषणा हो त्यो साकारमा जानु प¥यो । त्यसका लागि सरकार पनि त्यही ढंगले आउनुप¥यो ।
नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईँले देशमा राजनीतिक स्थिरता हुन लागेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बताइन्। उनले तीनकुने घटनामात्रै हेरेर सरकार चुप लाग्ने अवस्था नभएको बताइन्। उनले सहज अवस्था नभएकाले घटनाका बारेमा गृहमन्त्रीले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताइन्।
नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले तीनकुनेमा भएको आगलागीमा मिश्रित प्रतिक्रिया आएकाले अन्योल छाएको बताइन्। उनले घरको छतबाट प्रहरीले अश्रु ग्यास हानेकाले त्यस्तो अवस्था सिर्जना भएको भन्ने र प्रहरी छतमा नगएको भन्ने प्रतिक्रियाले भ्रम सिर्जना गरेको बताइन्। यस्ता भ्रमहरु समाधान गर्न सरकारले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘आगलागी गरेको विषयमा पनि धेरै कुराहरु बाहिर आएका छन् । एकथरीले भन्छ किन यो घटना घट्यो भन्दाखेरि होइन यो सरकारले नै यस्तो खालको परिस्थिति सिर्जना ग¥यो किनभने छतमा बसेर प्रहरीहरुले टियर ग्यास हान्यो भन्ने छ एकातिर । अर्कोतिर ताला लागेको छ ।अब मैले त भिडियोहरु हेरेको छु घरभेटी भनेर जस्लो बोलिरहनुभएको छ, होइन त्यहाँ तला लगाएको थियो प्रहरी गएको छैन भन्ने पनि सुनेको छु । अरुले भन्दाखेरि त्यहाँ प्रहरीहरु नै थिए, त्यही छतबाट हान्यो भन्ने पनि कुरा आएको छ । यस्तो मिश्रित प्रतिक्रिया आइरहेको बेलमा सत्यतथ्य के हो यो पनि प्रष्ट पार्ने पर्ने जरुरी छ ।’
नेपाली कांग्रेसका सांसद ह्रदयराम थानीले विमानस्थल रहेको तीनकुने र सिनामंगल क्षेत्रमा सुरक्षाका दृष्टिले संवेदनशिल भएकाले त्यस्तो ठाउँमा कार्यक्रम गर्न दिनु सरकार र सुरक्षा निकायको कमजोरी भएको बताए। उनले गृहमन्त्रीलाई संभावित अराजनीतिक घटना हुन सक्ने सूचना भएर पनि प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाए। उनले सुरक्षा निकायसँग सूचना लिन नसकेको हो वा सुरक्षा निकायको कार्यक्षमतामै ह्रास आएको हो ? भन्दै गृहमन्त्रीमाथि प्रश्न गरे।
प्रकाशित: २२ चैत्र २०८१ १८:०४ शुक्रबार