नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन्। उनले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको ? भन्दै प्रश्न समेत गरे। उनले अराजकत प्रदर्शनको मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गरे।
उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाए। उनले वर्तमान सरकार खालि सेटिङको पछि मात्र दौडिरहेको आरोप लाग्ने गरेको समेत टिप्पणी गरे। तस्करी रोक्दै जनतामा रहेको निराशा चिर्न सरकारको योजना के छ ? उनको प्रश्न छ । उनले आन्दोलनरत शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडितहरुका समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘सरकार त अहिले विद्युत प्राधिकरण र राष्ट्र बैंकको गर्भनरतिर मात्र लागिरहेको छ । खालि अहिले त सेटिङको कुरा मात्र आइरहेको छ । अलिकति विचौलियाहरुको पनि कुरा आइरहेको छ । मुलुकमा सुशासन कायम गर्ने र जनताको आक्रोस कहाँ छ र त्यसलाई कम गर्ने भन्नेतिर भन्दापनि तस्करीलाई रोक्नेभन्दा पनि सरकार के गरेर बसेको छ ? यसबारे सरकारको के भनाइ हो । जनतामा रहेको निराशा र आक्रोश जुन छ यसलाई सरकारको के योजना छ ? अहिले शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडित लगायतका आन्दोलनहरु भइरहेका छन् । उनीहरुले उग्र रुप लिएभने त गाह्रो हुन्छ यसबारे सरकारको के भनाइ हो रु ’
प्रकाशित: २२ चैत्र २०८१ १५:०४ शुक्रबार