पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाइदिने अभियानमा लागेको समूह अराजक देखिएको छ। सरकारले तोकेको तीनकुने क्षेत्रमा राजावादीले गरेको प्रदर्शन उग्र बन्दा एक पत्रकारसहित दुई जनाको ज्यान गएको छ।
अराजकता नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीसहित दर्जनौं घाइते भएका छन्। अर्बौंको निजी सम्पत्ति नोक्सान भएको छ। अराजक भिडले लगाएको आगोमा जलेर सञ्चारकर्मी सुरेश रजकको मृत्यु भएको छ। झडपमा सर्वसाधारण सविन महर्जनको गोली लागेर मृत्यु भएको छ। उनको शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो।
राजा ल्याउने अभियानको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं आफैं सुरक्षाकर्मीमाथि गाडी चलाएर आक्रमणमा उत्रिएका थिए। सुरक्षाकर्मीलाई मिच्ने गरी उनी उत्रेपछि उत्तेजित बनेको भिड ढुुंगामुढा गर्नतिर लागेको थियो। भिड अनियन्त्रित बनेपछि ‘सभाका नायक’ बनेका नवराज सुवेदी भागेका थिए भने प्रसाईं पनि गाडी लिएर हिँडेका थिए। आन्दोलनका नाममा भिडलाई उक्साउनेहरू हिँडेपछि अराजक व्यक्तिहरूले निजी घरमा आगजनी गरेका थिए। प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका आठवटा गाडीमा आजगनी गरे।
आक्रामक देखिएको भिडले ट्राफिक बिट पनि भत्कायो। पेरिसडाँडास्थित माओवादी केन्द्रको मुख्यालयमा मोटरसाइकल तोडफोड भयो। हिंसात्मक गतिविधि गर्दै हिँडेका उनीहरूले नेकपा एकीकृत समाजवादीको मुख्यालयमा आगजनी गरेका थिए। उनीहरूले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटभित्र पसेर लुटपाट मच्चाउनुका साथै तोडफोडसमेत
गरे । उनीहरू हातहातमा बियरको सिसी, ह्विस्कीका बोतल र लुटिएका अन्य सामग्री बोकेर हिँडेका देखिन्थे। राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले तीनकुने र आसपासका क्षेत्रमा कफ्र्य आदेश जारी गर्नुपर्ने अवस्था निम्तियो।
मिश्र–राणा पक्राउ, छानबिन समिति गठन
प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित १७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेफोर्ड लिम्बू, सन्तोष तामाङ पनि छन्। प्रहरीले फरार दुर्गा प्रसाईको पनि खोजी गरिरहेको छ । उमेरका कारण आन्दोलनका ८७ वर्षीय नवराज सुवेदीलाई भने घरमै नजरबन्दमा राखिएको छ ।
यसैबीच सरकारले राजावादीको आन्दोलनबारे छानबिन गर्ने भएको छ । राजावादीले गरेको प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा दुई जनाको ज्यान जानुका साथै झडप, आगजनी, तोडफोड भएपछि शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले घटनाबारे सत्यतथ्य पत्ता लगाउन र दोषीउपर कारबाही गर्न छानबिन समिति बनाउने निर्णय गरेको हो।
प्रदर्शन कसरी भयो हिंसात्मक?
आन्दोलनका सदस्य सचिव एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र आन्दोलन सुरु हुनुअगावै तीनकुनेबाट सुरक्षित ठाउँमा पुगेर सामाजिक सञ्जालमा व्यस्त भएका थिए। प्रदर्शनमा अपेक्षाकृत जनसहभागिता नभएपछि प्रसाईं निकै आक्रामक देखिएका थिए।
राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले साथ दिने भने पनि धोका दिएको भन्दै उनले ती दलका नेताहरूलाई गाली गरेका थिए। त्यसपछि उनीसहितको भिड प्रहरीको घेरा तोडेर शान्तिनगरबाट नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो। प्रदर्शनमा आएकाहरूले पनि प्रहरीलाई ढुंगा हानेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच धकेलाधकेल भएको थियो। भिड नियन्त्रणमा लिन प्रहरीले सुरुमा लाठीचार्जसमेत गर्नुपर्यो।
राजावादीहरूले तीनकुनेका स्थानीयका घरमा तोडफोड गरेका थिए। अश्रुग्याँस प्रहार गर्न प्रहरीले ती घर प्रयोग गरेको भन्दै राजावादी समूहले तोडफोड गरेका थिए।
ती घरका धनीहरू को–को हुन् खुलिसकेको छैन भने तोडफोडमा संलग्नको पनि पहिचान हुन बाँकी छ। प्रहरीसँगको झडपपछि तिनले स्थानीयको एक घरमा आगो लगाएका थिए। आगो निभाउन गएको दमकलमाथि उनीहरूले ढुंगा प्रहारसमेत गरेका थिए। त्यसपछि तीनकुने क्षेत्र तनावग्रस्त भएपछि प्रहरीले सुरुमा अश्रुग्याँस प्रहार गरेको थियो। त्यसपछि भिड नियन्त्रणमा नआएपछि हवाई फायर गरिएको थियो। ढुंगामुढापछि आगो निभाउन नसकी दमकल फर्किएको थियो। प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोलीसमेत चलाएको थियो।
तीनकुनेमा पुगेको सशस्त्र प्रहरी (एपिएफ) को गाडीमा राजावादीहरूले ढुंगामुढा गरेका थिए। राजावादीले एक घरमा लगाएको आगो निभाउन गएको सशस्त्र प्रहरीको टोली सवार गाडीमाथि ढुंगामुढा भएको थियो। त्योसँगै प्रदर्शनमा खटिएका एपिएफका सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको थियो। प्रदर्शनकारीहरूको आक्रमणमा परी एक महिला सशस्त्र प्रहरीको टाउकोसमेत फुटेको थियो। त्यस्तै प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुकसमेत खोसेका थिए। राजावादीहरूको समूहले सुरक्षाकर्मीले बोकेको अश्रुग्यास हान्ने बन्दुक खोसेका थिए।
प्रजिअको जबर्जस्ती
राजावादीहरूको आन्दोलन उग्र हुने सूचना दिएका सुरक्षाकर्मीलाई पन्छाउँदै जिल्ला प्रशासन कार्यालयका प्रमुख ऋषि तिवारीले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएका थिए। भौतिक संरचना निर्माण गर्दै गरेको, पेट्रोल पम्पनजिकै भएको, विमानस्थल नजिक भएको, राजनीतिक दलको पार्टी कार्यालय र मिडिया हाउसहरूनजिकै भएकाले त्यो स्थान संवेदशील रहेको रिपोर्ट दिँदादिँदै प्रजिअ तिवारीले अटेर गरी राजावादी समूह नाइके दुर्गा प्रसाईंलाई पर्दशनका लागि अनुमति दिएका थिए। ‘हामीले धेरै पटक त्यहाँको अवस्था ठिक छैन। राजावदीहरूको प्रर्दशन अराजक र अपाच्य हुने खालको छ। उनीहरूलाई अर्को ठाउँ दिनुपर्छ भनेका थियौं तर उहाँले मान्नु भएन,’ सुरक्षा अधिकारीले भने।
सरकारको संयम
राजावादीको आन्दोलन अराजक र आक्रामक भए पनि सुरक्षाकर्मीले अधिकतम संयम अपनाएका थिए। त्यसैको लाभ लिँदै उनीहरूले अराजकता मच्चाउने मौका पाएका थिए। स्थिति नियन्त्रणबाहिर गए सरकारले पनि थप रणनीति अगाडि सार्ने भएको छ।
गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंले आफैंले गाडी चलाएर प्रहरीलाई मार्न खोजेको आरोप लगाए। मन्त्री लेखकले राजावादीको आन्दोलनमा प्रहरीले संयम र धैर्य अपनाएको भन्दै उद्दण्डता कायम रहे सरकार टुलुटुलु हेरर मात्रै नबस्ने चेतावनी दिए।
मन्त्री लेखकले निजी सम्पत्ति आगजनी गर्ने र मिडिया हाउसमा आक्रमण गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने बताएका छन्। राजावादी आन्दोलनकारीहरूको अनियन्त्रित भिडले काठमाडौंको कोटेश्वर र तीनकुने क्षेत्रमा निजी सम्पत्तिमा आगजनी र मिडिया हाउसमाथि आक्रमण गरेको थियो।
गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटका लागि गरिएको भन्दै अब सरकारले संयम नराख्ने जनाएको हो। शुक्रबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले कुनै पनि दृष्टिले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको बताए।
उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी, विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए। राजावादी आन्दोलनमा करिब तीन हजार मान्छे सहभागी रहेको र उनीहरू दुर्गा प्रसाईंको नेतृत्वमा अराजनीतिक भिड भएको रिजालले बताए। आन्दोलनकारीको आक्रमणबाट १५ सुरक्षाकर्मी घाइते भएको जानकारीसमेत मन्त्रालयले दिएको छ।
‘पूर्वराजाका समर्थकहरूद्वारा तीनकुने क्षेत्रमा जुन खाले गतिविधि भयो, त्यो खेदजनक छ। यो संविधानले प्रदान गरेको स्वतन्त्रताको हकको दुरूपयोग हो। दुर्गा प्रसाईं, जसले यो प्रदर्शनको नेतृत्व गरेको भनिएको छ, जुनखाले गतिविधि भयो, यो क्षमायोग्य छैन,’ मन्त्रालयले भनेको छ।
फिल्डमा सुरक्षा कमजोरी
विगतमा ललितपुरको बालकुमारीमा तत्कालिन भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वलामाथि आक्रमण भएको थियो। प्रहरीले उनलाई जोगाउन हरसम्भव प्रयास गर्यो। अराजक भिडले प्रहरीमाथि नै आक्रमण गर्यो। प्रहरी घाइते भए। तर सरकारले तुरुन्तै फिल्डमा खटिएका डिएसपी उमेश लम्सालमाथि कारबाही गर्यो। प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयमा तान्यो। तर प्रजिअलाई कारबाही भएन।
यो एउटा सानो उदाहरण मात्रै हो। सरकारले फिल्डमा खटिने सुरक्षाकर्मीको दोष देखाएर कमान्डरलाई कारबाही गर्ने, कोभर्ट अपे्रसनमा खटिएका सुरक्षा अधिकारीलाई विभिन्न आयोग बनाएर कारबाही गर्ने तथा काबिल अफिसरलाई कार्यक्षेत्रमा खटाउनुभन्दा आफ्ना मान्छेलाई खटाउन थालेपछि फिल्डमा रहेका सुरक्षाकर्मीले त्यसको ‘रिक्स’ लिन नचाहेको देखिन्छ।
राजावादीको अराजक समूहले केही दिनअघिबाटै हिंसात्मक आन्दोलन गर्ने सूचना गृह मन्त्रालय र सुरक्षा अंगलाई नभएको होइन। उनीहरूले यथार्थ स्थिति विश्लेषण गरी आफ्नो नेतृत्वलाई दिएका पनि हुन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार एसपी, १५ डिएसपी, २५ इन्स्पेक्टर शुक्रबार फिल्डमा खटिएका थिए। तर उनीहरूले फिल्डको कमान्ड गर्न सकेनन। दुर्गा प्रसाईंले चलाएको गाडीले सुरक्षाकर्मीहरूमाथि आक्रमण गर्दा पनि प्रहरीले टायरमा समेत गोली हानेर नियन्त्रणमा लिन सकेन।
तीनकुने क्षेत्रमा बानेश्वर वृत्तका डिएसपीले कमान्ड गर्न नसकेको फिल्डमा खटिएका एसपीले आदेश दिन नसकेको र समग्रमा काठमाडौं परिसर नेतृत्वले फिल्डमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन नसकेको देखिएको छ। साथै काठमाडौं उपत्यकाको कमान्ड गरिरहेका प्रहरी प्रमुखले सिसीटिभी मात्रै हेरेर बसेका हुन् वा फिल्डमा खटिएका कर्मचारीलाई मौन बस्न आदेश दिएका हुन् ? यसको गम्भीर समीक्षा आवश्यक रहेको सुरक्षा विज्ञहरूले जनाएका छन्।
प्रहरी कर्मचारीलाई राजनीतिक दलका नेताहरूको घरघरमा धाउने बनाएकाले पनि फिल्डमा समस्या उत्पन्न भएको स्वतः देखिएको छ। साथै उनीहरूलाई आवश्यक पर्ने सामग्री खरिदलगायत विषयमा सरकार सधै मौन छ। भिड नियन्त्रण तालिम हातहतियार तथा अश्रुग्यासलगायतमा सरकार सधैं मौन रहँदै आएको छ। सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई तालिम तथा तालिममा आवश्यक पर्ने सामग्री खरिद गर्नुका साटो सरुवाबढुवामा आफ्ना मान्छेलाई प्राथमिकता दिएकाले पनि यसको असर परेको देखिन्छ।
शीर्ष नेताले काँधमा चढाउँदाको परिणाम
गणतन्त्रका कमान्डरलाई मार्सी चामलको भात खुवाएर मात्तिएका दुर्गा प्रसाईंले सरकार र निजी सम्पत्तिमाथि तोडफोड गरेर गणतन्त्रको ‘अराजक’ सदुपयोग गरेका छन्। कुनै बेला माओवादी नेताहरूको प्रिय पात्र मात्र होइन, एमालेको केन्द्रीय सदस्यसमेत बनेका व्यक्ति पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक श्रीपेच लगाउन तम्सेका प्रसाईं अहिले अराजक रूपमा प्रस्तुत भएका छन्।
नेताहरूले शिरमा टेकाएका यी पात्र अहिले अवस्था बदल्न होइन, व्यवस्था बदल्न भन्दै अराजक भिड जम्मा गरेर हिँडेका छन्। उनले यसअघि सार्वजनिक रूपमा विभिन्न व्यक्ति र संस्थामाथि अराजक टिप्पणी गर्दा समेत कुनै कानुनी कारबाही नभएपछि अहिले अराजकताको सीमा नाघेको हो।
२०६३ सालपछि माओवादी खुला राजनीतिमा आएयता प्रसाईंले माओवादीका ठुला नेताहरूलाई गाडीमा बोक्ने, आर्थिक सहायता दिने, जिल्लामा प्रयोग गर्न सकिनेहरूलाई आर्थिक, भौतिक सहयोग गरेका थिए। प्रसाईंका लागि माओवादीलाई साथ लिनुपर्ने प्रयोजन सकिएको थिएन।
पहिलो संविधानसभापछि माओवादी सत्तामा पुगेपछि प्रसाईं नेतृत्व वरिपरि नै घुमिरहे। सुरुमा कांग्रेस पृष्ठभूमिबाट आएका प्रसाईं माओवादीको फेर समातेर एमालेमा प्रवेश गरे। एमालेका नेताहरूले पनि उसलाई दह्रो साथ दिए। प्रदर्शनका क्रममा शुक्रबार आफैं गाडी चलाएर प्रहरीमाथि जाइलागेका प्रसाईंले भिडलाई उत्तेजित बनाएपछि उनको अराजकता थप सतहमा आएको हो।
तीनकुने क्षेत्र आसपासमा कर्फ्यु
राजावादीको अराजकता बढ्न नदिन तीनकुने क्षेत्र आसपासमा कर्फ्यु लगाइएको छ। काठमाडौं जिल्ला प्रशासनले सुरुमा शुक्रबार दिउँसो ४ः२५ देखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको थियो। पछि कर्फ्युको समय थप गरी शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको प्रजिअ ऋषिराम तिवारीले जानकारी दिए।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रजिअ ऋषिराम तिवारीसहितको छलफलपछि कफ्र्यु लगाउने निर्णय भएको थियो। शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म पाँच स्थानभित्र कर्फ्यु क्षेत्र तोकिएको छ। कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो। कर्फ्यु नै जारी भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरे।
‘राजावादीहरूको प्रदर्शन हिंसात्मक’
यसैबिच राष्ट्रिय मानवअधिकार आयोगले राजावादीहरूको प्रदर्शन हिंसात्मक भएको निष्कर्ष निकालेको छ। आयोगले विज्ञप्ति जारी गर्दै प्रहरीको घेरा तोडी प्रदर्शनकारीहरू बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको जनाएको छ। चारवटा उच्चस्तरीय टोली बनाएर अनुगमन गरेको जनाउँदै आयोगले प्रदर्शनकारीले तीनकुनेमा सञ्चारमाध्यम, कलेज तथा व्यक्तिगत घरमा आगजनी र आक्रमण गर्नुका साथै आगो निभाउन हिँडेको दमकल तथा सशस्त्रको गाडीमा समेत ढुंगा प्रहार गरेको भेटिएको विज्ञप्तिमा उल्लेख छ।
‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि र अरूको अधिकारको उपभोगमा अवरोध गर्ने कार्य स्वीकार गर्न सकिँदैन,’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘यस प्रकारका हिंसात्मक कार्यमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्छ।’ आगामी दिनमा आफ्ना प्रदर्शन र कार्यक्रमहरूलाई शान्तिपूर्ण बनाउन, अधिकारको प्रयोग गर्दा अरूप्रति पर्न जाने असरप्रति संवेदनशील हुन पनि आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ।
अराजक र हिंसात्मक गतिविधि निन्दनीय: प्रमुख दल
यसैबीच गणतन्त्र पक्षधर प्रमुख राजनीतिक दलहरूले शुक्रबार काठमाडौंको तिनकुने क्षेत्रमा भएको अराजक र हिंसात्मक गतिविधिको निन्दा गरेका छन्। नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका नाममा राजावादी समूहले हिंसा र आतंक फैलाउने काम गरेको आरोप लगाएका हुन्।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा तिनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाको निन्दा गरिएको छ संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्ने जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणका सवारीसाधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’
लोकतान्त्रिक गणतन्त्रको स्थापना २०६२÷०६३ को जनआन्दोलनबाट सोझै नभएको स्मरण गराउँदै कांग्रेसले आन्दोलनले केबल प्रतिनिधिसभा पुनस्र्थापित गरेको उल्लेख गरेको छ। पुनस्र्थापित संसद्मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको कांग्रेसले जनाएको छ। नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको जनाउँदै महामन्त्रीद्वयले भनेका छन्, ‘नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं।’
कयौं कमजोरी भएको स्वीकार गर्दै कांग्रेसले तिनको निदान र समाधान पहिल्याउन दृढ रहेको विज्ञप्तिमा उल्लेख छ। ‘नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यही संविधानको दायराभित्रैबाट क्रमशः गर्न सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको विकल्प अझै समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीका सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन।’
सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपिल गर्दै कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गरेको छ।
यसैगरी सरकारको नेतृत्व गरेको एमालेले राजावादीको प्रदर्शनलाई अराजकताको संज्ञा दिएको छ। शान्तिपूर्ण प्रदर्शनका नाममा राजावादी समूहले सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, हिंसा र आतंक फैलाउने काम गरेको भन्दै एमालेले निन्दा गरेको छ।
‘एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ,’ एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएकोछ, ‘सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्छ।’
त्यस्तै माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले पनि राजावादीहरूलाई आपराधिक र आततायी तत्वको संज्ञा दिएको छ। त्यस्ता गतिविधिमा संलग्नलाई तुरून्तै कारबाहीको दायरामा ल्याउन मोर्चाले आग्रह गरेको छ। मोर्चाले राजनीतिक दलका कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारसँग मागसमेत गरेको छ।
त्यस्तै, नेपाल पत्रकार महासंघले शान्तिपूर्ण प्रदर्शनका नाममा राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरेको टिप्पणी गरेको छ। राजावादीहरूको अराजक समूहले विभिन्न क्रियाकलाप गरेर सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको जनाउँदै महासंघमा महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै राजावादीहरूको प्रदर्शनले एक पत्रकारको जलेर मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगो लगाउने काम भएको, हुलहुज्जत भएको र सञ्चारमाध्यमहरूमा तोडफोड भएकाले गम्भीर ध्यानाकर्षण भएका जनाएका छन्। यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्न माग गर्दै महासंघले आगामी दिनमा पनि यस्ता क्रियाकलाप दोहोरिए विरोधमा उत्रिने चेतावनी दिएको छ।
प्रकाशित: १६ चैत्र २०८१ ०६:४२ शनिबार