१८ चैत्र २०८१ सोमबार
image/svg+xml ३:१२ पूर्वाह्न
राजनीति

कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत प्राप्त भएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताएका छन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज यहाँ आयोजना गरेको ‘ऊर्जा आयोजनामा कार्बन वित्त, लगानीका अवसर’ विषयक गोष्ठीमा उनले कार्बन बिक्रीबापतको रकम गरिब, आर्थिक अवस्था कमजोर भएका, पिछडिएका वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्नेमा जोड दिए।

“कार्बन कोषमार्फत दूरदराजमा रहेका गरिब, विपन्न र पिछडिएका जनताका लागि सोलारसहित मिटर राखिदिएमा स्थानीयलाई आम्दानीको वातावरण निर्माण हुन्छ। यो कार्यले सरकारले राखेको विपन्न नागरिकलाई समृद्ध बनाउने लक्ष्यमा सहयोग पुग्नेछ,' उनले भने। कार्बन उत्सर्जन न्यूनीकरणमा साझा प्रयासको खाँचो रहेकामा जोड दिए।  

ऊर्जामन्त्री खड्काले सरकारका अङ्गले सरकार र मुलुकलाई सहयोग गरी जनहितमा काम गर्नुपर्ने बताए। 'प्रचारप्रसार गरेर होइन, काम गरेर स्थापित हुने काम गरौँ, अनुशासित भएर काम गर्नेलाई सरकारले सम्मान पनि गर्नेछ,' उनले भने।

उनले नेपाल जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्र भएको जनाउँदै नेपालले सन् २०४५ सम्ममा खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिलसम्बन्धी दीर्णकालीन रणनीति लिएको सन्दर्भमा स्वच्छ ऊर्जा रुपान्तरणको माध्यमबाट उक्त लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

ऊर्जामन्त्री खड्काले सरकारले आफ्ना नीति, रणनीति, योजना तथा लक्ष्यमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनमार्फत हरितगृह उत्सर्जन न्यूनीकरणसम्बन्धी कार्यलाई विशेष प्राथमिकता दिँदै आएको उल्लेख गरे। सरकारले हालै स्वीकृत गरेको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ मा नेपालले अघि सारेका स्वच्छ ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिइएको उनले बताए।

मार्गचित्रले लिएका लक्ष्य सन् २०४५ सम्म खुद शून्य कार्बन उत्सर्जनसम्बन्धी दीर्घकालीन लक्ष्य, दोस्रो राष्ट्रिय निर्धारित योगदान, १६औँ योजनालगायत राष्ट्रिय लक्ष्य एवं अन्तर्राष्ट्रिय प्रतिबद्धतासँग सम्बन्धित रहेका उनले जानकारी दिए। मन्त्री खड्काले कार्बन वित्त परिचालनमा सम्पूर्ण सरोकार भएका संस्थाबीच प्रभावकारी र परिणाममुखी सहकार्य आवश्यक रहेकामा जोड दिए।

ऊर्जामन्त्री खड्काले हालै राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेस भएको नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकलाई प्रतिनिधिसभाबाट पारित गराई ऐनका रूपमा कार्यान्वयन गराउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरे।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नेपालले हालसम्म कार्बन बिक्रीबाट रु चार अर्ब ८३ करोड आम्दानी गरिसकेको जानकारी दिए। उनले आगामी मे १६ देखि १८ तारिखसम्म जलवायु न्यायको पैरवीका लागि हुन लागेको ‘सगरमाथा संवादलाई यो गोष्ठीले सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा विभिन्न दातृ निकायका प्रतिनिधिहरूको पनि सहभागिता थियो।

प्रकाशित: १४ चैत्र २०८१ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App