१८ चैत्र २०८१ सोमबार
image/svg+xml ०:१३ पूर्वाह्न
राजनीति

माओवादी द्वन्द्व राष्ट्रिय गल्ती हाे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउने कुरामा सरकार लागिपरेको बताएका छन्।

बिहीबार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालले मौलिक किसिमले शान्ति प्रक्रिया आफैँले शुरु गरेको र आफैँले अगाडि बढाएको बताए। उनले आफूले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन र सफल पार्न मात्रै चाहेको र त्यसको श्रेय आफूलाई नचाहिने जिकिर गरे।

उनले पीडितका घाउमा मल्हम लगाउन र अबबाट नेपालमा अशान्ति हुँदैन भन्नेकुराको ग्यारेन्टी गर्न आवश्यक रहेको बताए। उनले शान्ति प्रक्रियाका बाँकी काम कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल र आफूबीचको समझदारीमै टुंग्याइने भन्दै समझदारी गर्न आह्वान गरे। तीन राजनीतिक दलहरुले संकल्प गर्ने हो भने धेरै समय नलाग्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैँले शुरु गरेका छौँ । हामी आफैँले अगाडि बढाएका छौँ । कसले श्रेय लिने हो भन्नेकुरा छोडिदिऔँ । म यसलाई सफल मात्रै पार्न चाहन्छु, श्रेय म बाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन, श्रेय चाहिएन । सफल पारौँ । पीडितका घाउमा मल्हम लगाऔँ । उहाँहरुका आँशु पुछौँ । नेपाली जनतालाई निश्चिन्त बनाऔँ की अब नेपालमा शान्ति हुनेछ । यस्तो भायलेन्स हुनेछैन, यसरी मान्छे पीडित हुनुपर्ने छैन । हामी बीचकै कुरा त हो यो । हामीले वास्तवमा संकल्प गर्ने हो भने यसलाई टुंग्याउन नसक्ने कुरा छैन । पीडितलाई न्याय दिन नसकिने कुरा छैन । सकिन्छ, सक्नुपर्छ । हामी सक्छौँ । त्यही विश्वासका साथ प्रधानमन्त्रीको हैसियतले म लागेको छु, यो विश्वास दिलाउन चाहन्छु । त्यसैले म प्रधानमन्त्री भए लगत्तै लामो समयदेखि अड्एिको ऐन पास गर्न सबै पक्षलाई आग्रह गरेँ ।’

प्रधानमन्त्री ओलीले विगतमा नेपालले ठूलो हिंसा भोगेको जिकिर गर्दै अहिले पनि उक्त हिंसालाई लिएर बिदा मनाउने कुरा किन भइरहेको छ ? भन्दै प्रश्न गरे। माओवादी द्वन्द्व राष्ट्रिय गल्ती भएको बताए। 

प्रकाशित: १४ चैत्र २०८१ १२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App