राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले गणतन्त्रवादी दल तथा नेताहरूलाई चार प्रश्न सोधेका छन्।
'षड्यन्त्रमूलक ढङ्गबाट र चोर बाटोबाट राजसंस्थाको अन्त्य गर्न संलग्न केही जीवित 'खलपात्र'हरूको छटपटी केही दिनयता हेरिनसक्नु छ। ०६३ बैशाख ११ गते राजा र राजनीतिक दलको सहमतिमा प्रतिनिधिसभा पुन: स्थापित भयो, सहमति हुँदै गर्दाको आन्दोलनमा राजसंस्थाको अन्त्य गर्ने माग पनि थिएन। ०६३ जेठ ४ गतेको प्रतिनिधिसभा घोषणामा राजसंस्थाको निरन्तरता समेत स्वीकार पनि गरिएको थियो,' प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।
यसो भन्दै उनले चार प्रश्न सोधेका छन्-
-राजासँग भएको सहमतिविपरीत राजसंस्थालाई पाखा लगाउने काम किन भयो?
-यस कुकर्ममा को-को, कुन उद्देश्यका लागि र कसको इशारामा संलग्न भए?
-०५९ मा शेरबहादुर देउवाले विघटन गरेको अर्थात् मरिसकेको प्रतिनिधिसभा ०६३ मा पुन: स्थापित हुनसक्यो भने षड्यन्त्रपूर्ण रूपमा पाखा लगाइएको राजसंस्था पुन: स्थापना हुन किन सक्दैन ?
-जनताको तागतलाई हेप्ने र नजरअन्दाज गर्नेहरूलाई अझै अग्रगमनकारी मानिदिनुपर्ने ?
उनले अब नयाँ दिने आउने पनि बताएका छन्। 'अब नयाँ दिन आउनेछ‘ आउनैपर्छ। इतिहासले हिसाब खोज्छ,' उनले भनेका छन्।
प्रकाशित: ९ चैत्र २०८१ २१:०६ शनिबार