प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने गरी काम भइरहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सांसदसँग प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ।हाल अलजजिरा, फ्लाई दुवई, एअर एसिया र नेपाल एअरलाइन्सले उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन्।’
श्रम तथा रोजगार कार्यालय बुटवलबाट श्रम स्वीकृति प्रदान गर्न सुरु भएको पनि प्रधानमन्त्री ओलीले बताए। ‘साथै, अध्यागमन, मुद्रा सटही लगायतका बैंकिङ सुविधा विमानस्थलमै प्रदान गर्ने व्यवस्था मिलाइएको र भविष्यमा उक्त विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नेगरी काम भइरहेको छ,’ उनले भने।
प्रकाशित: ७ चैत्र २०८१ १३:१२ बिहीबार