त्रिभुवन विश्वविद्यालय अन्तर्गत बाँकेका तीन वटा क्याम्पसमा मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विजय हासिल गरेको छ।
चार क्याम्पसमध्ये तीनमा निर्वाचन सम्पन्न हुँदा एक क्याम्पसमा भने विवादका कारण निर्वाचन स्थगित भएको छ।
महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी
पश्चिम नेपालकै पुरानो शैक्षिक संस्थामा मानिने महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा अनेरास्ववियुको पूर्ण प्यानल विजयी भयो।

अध्यक्षमा अनेरास्ववियुका केशरजंग शाह ५९९ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हरेन्द्र बहादुर बिकले ५२७ मत पाए।
यसैगरी, कांग्रेस निकट नेपाल विद्यार्थी संघका सन्तोष रावलले ३६४ मत र नागरिक उन्मुक्ति पार्टी निकट समावेशी समूहका निशान थारुले १६० मत ल्याए।
सचिवमा अनेरास्ववियुका चिरञ्जीवी बुढा र कोषाध्यक्षमा सुरेन्द्र रावल विजयी भए। सदस्यहरूमा अमिश बिक, बन्दना थारु, अंकितकुमार यादव, टक्क रोकाया, निरज यादव, राजीव साह, शिशिर सुवेदी र गोपाल आउजी निर्वाचित भए।
नेपालगन्ज नर्सिङ क्याम्पसमा पनि अनेरास्ववियुको प्यानलै विजयी
नेपालगन्ज नर्सिङ क्याम्पसमा पनि अनेरास्ववियुका देवार्चना अधिकारी अध्यक्षमा निर्वाचित भइन्।

उनले कांग्रेस निकट नेविसंघकी सुरेसमा थारुलाई पराजित गरिन्। सचिवमा ईशा पौडेल, कोषाध्यक्षमा अस्मिता सिंह निर्वाचित भए। सदस्यहरूमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही र यशोदा खड्का चयन भए।
ज्ञानोदय पब्लिक क्याम्पस खजुरामा संयुक्त प्यानलको जित
खजुरा स्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा अध्यक्षमा अनेरास्ववियुका सर्विन महतो निर्वाचित भए।

उनी अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका साझा उम्मेदवार थिए। महतोले ११२ मत ल्याउँदा, उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका मोहम्मद आसिफ साईले ६४ मत पाए।
सचिवमा सविनकुमार खत्री र कोषाध्यक्षमा ममता कार्की निर्वाचित भए। दुवै नेविसंघ सम्वद्ध हुन्। सदस्यमा कसिस लामा (अखिल), निरुता रावत (अखिल) र आस्थाकुमारी थारु (नेविसंघ) विजयी भए।
जनशिद्धेश्वर क्याम्पसको निर्वाचन विवादसँगै स्थगित
फत्तेपुरस्थित जनशिद्धेश्वर बहुमुखी क्याम्पसमा भने निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै संयुक्त प्यानल (नेविसंघ–अनेरास्ववियु) ले तालाबन्दी गरेपछि निर्वाचन स्थगित गरिएको छ।
संयुक्त प्यानलले मतदाता नामावलीमा फर्जी विद्यार्थी थपिएको आरोप लगाउँदै आइतबार रातिदेखि निर्वाचन अधिकृतको कार्यलयमा तालाबन्दी गरेको थियो।
विज्ञप्तिमार्फत त्रुटी नसच्याएसम्म अनिश्चितकालीन तालाबन्दी जारी रहने जनाएको छ। ‘ताला तोडफोड भए क्याम्पस प्रशासन नै जिम्मेवार हुने’ चेतावनी दिइएको छ।
जनशिद्धेश्वरमा सभापति पदमा नेविसंघकी निरा थारु र अखिल क्रान्तिकारीकी माया थारुबीच प्रतिस्पर्धा हुने तय भएको थियो। तर, अखिल क्रान्तिकारीले प्रशासनसँग मिलेर १३ जना फर्जी विद्यार्थी भर्ना गराएको आरोप लगाइएको छ।
तर, माया थारुले भने हारको डरले निहुँ खोज्दै तालाबन्दी गरिएको दाबी गरिन्। निर्वाचन अधिकृत सोमनाथ थारुले भने ‘फर्जी भर्ना भएको भन्ने हल्ला मात्रै हो, वास्तविकता होइन’ भन्दै आरोप अस्वीकार गरे।
१. महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा विजयी स्ववियु पदाधिकारीहरू
२. नेपालगन्ज नर्सिङ क्याम्पसका विजयी स्ववियु पदाधिकारीहरू
३. ज्ञानोदय पब्लिक क्याम्पस, खजुराका नव निर्वाचित पदाधिकारीहरू
तस्बिरः नागरिक
प्रकाशित: ६ चैत्र २०८१ २१:१४ बुधबार