विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा करिब ४४ प्रतिशत मतदान भएको छ।
क्याम्पसमा कुल ५ हजार ९ सय ८४ जना मतदाता रहेकोमा २ हजार ६ सय २८ जनाले मात्रै मतदान गरेका हुन्।
निर्वाचनका लागि निर्धारित ४ बजेको समयसम्ममा ४३.९१ प्रतिशत विद्यार्थीले मात्रै मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ।
कुल खसेको मतमध्ये १ हजार ४ सय ५८ छात्र र १ हजार १ सय ७० जना छात्राले मतदान गरेका छन्। मतदानका लागि निर्वाचन कार्यालयले क्याम्पस परिसरमा १५ वटा मतदान केन्द्रहरू स्थापना गरेको थियो।
मतदान सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ। सर्वदलीय बैठकपछि आजै साँझबाट मतगणना गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै, विराटनगर स्थित नसिंङ क्याम्पसमा स्ववियू निर्वाचनमा ९७ दशमलव ५ प्रतिशत मत खसेको छ। क्याम्पसमा ३ सय २३ जना विद्यार्थीहरू मध्ये ३ सय १५ जनाले मतदान गरेको निर्वाचन अधिकृत दिपीका खड्गीले जानकारी दिए।
३ सय २३ जना विद्यार्थीहरू मध्ये ३ सय १५ जनाले मतदान गरेको र अन्य ८ जना विराटनगर भन्दा बाहिर भएका कारण मतदानमा सहभागी हुन नसकेको उनले बताइन्।
आजै साँझ ८ बजे देखि मतगणना सुरु हुने उनले जानकारी दिइन्। यता विराटनगर स्थित डिग्री क्याम्पसमा पनि निर्वाचन सम्पन्न भएको छ।
डिग्री क्याम्पसमा मतगणना सुरु भइसकेको जनाइएको छ। मोरङका ३ आङ्गिक र ८ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको थियो।
जसमध्ये केही स्थानको मतगणनासमेत सम्पन्न भइरहेको छ। मोरङको कानेपोखरी स्थित रमाइलो क्याम्पस सभापतिमा अखिल क्रान्तिकारीका अनीश कार्की निर्वाचित भएका छन्।
यस्तै, केराबारी स्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भएका छन्।
प्रकाशित: ५ चैत्र २०८१ २०:१२ मंगलबार