सदरमुकाममा पाँचौं संस्करणको इलाम साहित्य महोत्सव चलिरहेको छ । शुक्रबार सुरु महोत्सवमा साहित्य, कला, पर्यटन, शिक्षालगायत विषयमा बहस तथा कविता गीत–गजल प्रस्तुत गरिएका छन् ।
महोत्सवमा नेपालसहित विभिन्न देशका साहित्यकार, कलाकार, पत्रकार, लेखकलगायत सहभागी छन् । महोत्सवको दोस्रो दिन शनिबार ‘शिक्षा विधेयकको सकस’ विषयमा टंक गौतम, डा.योगेन्द्रमान श्रेष्ठ र पूर्ण गौतमले बहस गरे । कार्यक्रम सञ्चालन पत्रकार सटेन्द्र जबेगूले गरेका थिए । ‘सीमावर्ती साहित्य’ विषयमा डा.हेम भण्डारीले बहस सञ्चालन गर्दा विनिता क्षेत्री, कृष्ण बराल र डा.ज्ञानेन्द्र यक्सो बहसमा सहभागी भए ।
‘हिमालवारि हिमालपारि’ शीर्षकमा पत्रकार सुधीर शर्मा वक्ता रहँदा दीपक सापकोटाले सहजीकरण गरे । ‘इलाम डेभलपमेन्टः ओरेन्ज एन्ड ग्रिन इकोनोमी’मा प्रतिनिधिसभा सदस्य निस्कल राईले संभाषण प्रस्तुत गरे । ‘जराको कुरा’मा मोहन मैनाली, युद्धप्रसाद वैद्य र सुजित मैनालीले बहस गरे ।
कवि जुनिता सुब्बाको कविता संग्रह ‘प्रिय आत्मन’ पनि त्यसै अवसरमा विमोचन गरिएको छ । उनको कवितासंग्रह इलाम नगरका मेयर केदार थापालगायतले विमोचन गरे । अमेरिकामा रहेकी सुब्बाले १ करोड २५ लाख रुपैयाँको ‘जुनिता ट्रस्ट’ घोषणा गरेकी छन् । पुस्तक बिक्रीबाट उठ्ने रकम पनि ट्रस्टमै जम्मा हुने त्यस अवसरमा जानकारी गराइएको छ । महोत्सवमा गायक पुष्पन प्रधानलाई सम्मान पनि गरिएको छ ।
महोत्सवको पहिलो दिन शुक्रबार आख्यान, कविता, पत्रकारिता, पर्यटनलगायत विषयमा छलफल भएको थियो । ‘कविताः विरासतदेखि रिल्ससम्म’मा विनोदविक्रम केसी, रीमा केसी, समदर्शी काइँला र रमेशचन्द्र अधिकारीले बहस गरे । बालिका थपलियाले सहजीकरण गरेकी थिइन् ।
‘डिजिटल मासु भात र हामी पत्रकार’ शीर्षकमा पत्रकार तथा लेखक बसन्त बस्नेतले सम्भाषण प्रस्तुत गरे । पर्यटन विकासको सम्भावना, अवसर र चुनौतीबारे ‘पर्यटनको वैभवः समृद्धिको आधार’ शीर्षकमा निरोज कट्टेल, सशीला सापकोटा, अमिर राई र गिरिराज बाँस्कोटाले बहस गरेका थिए । केशव दाहाल, उमा सुवेदी, अमर न्यौपाने, श्याम सिंघक र शैलेन्द्र अधिकारीले ‘आख्यान, उपआख्यान’ विषयमा बहस गरे । साँझ विभिन्न स्रष्टाले गजल प्रस्तुत गरे ।
महोत्सवमा ५० हजार रुपैयाँ राशिको ‘हाङयुग–जुनिता साहित्यिक पुरस्कार साहित्यकार सुन्दर कुरूपलाई अर्पण गरियो । राधिका नेम्वाङ स्मृति पुरस्कार कविता नेपाललाई प्रदान गरिएको थियो भने दिनेश डिसीलाई पनि सम्मान गरिएको थियो ।
आयोजक इलाम नगर साहित्य कला संगीत प्रतिष्ठान अध्यक्ष प्रकाश थामसुहाङले साहित्य, कला, संस्कृति र सम्मानमार्फत् समाजको उन्नयनमा सहयोग गर्न महोत्सव आयोजना गरिएको बताए । शुक्रबार सुरु महोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमसहित शनिबार समापन हुँदैछ ।
प्रकाशित: १९ वैशाख २०८३ १९:२७ शनिबार





