सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा एआइजी दीपक थापालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजी थापालाई ३१औं आइजिपीमा नियुक्ति गरेको हो। आइजिपी वसन्तबहादुर कुँवरले सोमबार रातिबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएसँगै थापालाई उक्त पदमा नियुक्ति गरिएको हो।
थापालाई कमान्ड चार्ज बुझाएर आइजिपी कुँवर सोमबार बिदा भए। कुँवरको अवकाशसँगै प्रहरी प्रधान कार्यालयमा नयाँ आइजिपी थापालाई मंगलबार बिहान औपचारिक स्वागतको तयारी गरिएको छ। ३१औं आइजिपीलाई मंगलबार नै गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरिनेछ। सरकारले एआइजी थापालाई नियुक्ति गर्नुअघि आइजिपी कुँवरलाई गृह मन्त्रालयले बिदाइ गरेको थियो। त्यसैगरी प्रहरी प्रधान कार्यालयले पनि कुँवरलाई बिदाइ गरेको थियो।
आइजिपीबाट बिदा हुने क्रममा कुँवरले सबैलाई धन्यवाद दिए। ‘प्रहरी संगठनमा तीन दशक अविच्छिन्न सेवापछि आज (सोमबार) प्रहरी महानिरीक्षकको पदबाट सेवानिवृत्त हुँदै छु। नेपाल प्रहरीजस्तो गौरवशाली संगठनको सदस्य भई देश र जनताको सेवा गर्ने अवसर पाएकोमा गौरवान्वित छु। सेवाबाट अवकाश हुन लागेको क्षणमा नेपाल सरकार, आम नेपाली नागरिक र समस्त नेपाल प्रहरी संगठनप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्छु,’ उनले धन्यवाद पत्रमा भनेका छन्।
आफ्नो कार्यकाल औसत बिताएका कुँवरले संगठनमा सकेसम्म कसैलाई अन्याय नगरेको टिप्पणी गरे। ‘संगठनको मापदण्ड सकेसम्म पालना गरें, सकेसम्म अन्याय गर्ने वातावरण तयार गरिनँ,’ उनले भने। उनको कार्यकालमा सबैभन्दा बढी उच्च तहका नेता र कर्मचारीमाथि अनुसन्धान भएको थियो। नेपाल प्रहरीले गरेको अनुसन्धानमा राजनीतिक दलका नेता–कार्यकर्ताले जस लिने होडबाजी गरे। त्यसपछि आइजिपी कुँवर छायामा परेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवासको जग्गा किर्ते अनुसन्धान, राजनीतिक लहरो जोडिएको सुन प्रकरण, बाँसबारी छालाजुत्ता जग्गा प्रकरण, सेन्चुरी बैंक ठगी प्रकरण, शेरा दरबार जग्गा अनुसन्धान, बालमन्दिर जग्गा भाडा प्रकरणजस्ता हाल चर्चामा आएका राजनीतिक र व्यापारिक लहरो जोडिएको अनुसन्धान उनकै पालामा भएका थिए। तर यी सबै अनुसन्धानको जस भने राजनीतिक नेतृत्वले लिए । झन्डै ८० हजार जनशक्ति रहेको र मुलुकको आन्तरिक सुरक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मंगलबारबाट नयाँ नेतृत्वको कमान्ड पाउनेछ।
आइजिपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका तीन एआइजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रहरीको ३१औं आइजिपीका लागि मुख्य दाबेदार थिए। तीमध्ये थापाले बाजी मारेका हुन्। थापा, गिरी र तामाङ तीनै जना एकै ब्याचमा भर्ना भएका थिए। थापा एआइजी पदमा बढुवा हुँदा आइजिपी (मंगलबारबाट निवर्तमान) कुँवर पनि सँगै बढुवा भएका थिए।
२०७९ फागुन २६ मा एआइजीमा सिफारिस भएका थापालाई २०७९ चैत ६ गतेको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको थियो। थापा एआइजी भएको दुई सातापछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए। नेपाल प्रहरीले नयाँ ऐन प्राप्त गरे सो ऐनले निर्धारण गरेअनुसारको अवधिभर आइजिपी हुने अवसर थापाले पाउनेछन्। ऐन नआए आउने ६ महिना अर्थात् २०८२ भदौ १९ सम्म उनको कार्यकाल रहनेछ।
सोमबार प्रहरी प्रमुखमा नियुक्त थापा पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नेतृत्वमा थिए। तामाङ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन्। प्रहरी नियमावलीमा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ। त्यही कारण प्रहरी प्रमुख बन्न बढुवाको अन्तिम समयसम्म आकांक्षीहरूबिच राजनीतिक समर्थन जुटाउन दौडधुप गरे पनि त्यति अस्वस्थ प्रतिस्पर्धा भने देखिएको थिएन। सरकारले पहिलो वरीयतामा रहेका थापालाई नै आइजिपी बनाएको हो। कुँवरसँगै अन्य नौ जना उच्च अधिकृत पनि प्रहरी सेवाबाट बिदा भएका छन्। एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराईले अवकाश पाएका छन्।
उनीहरूलाई सम्बन्धित कार्यालयले बिदाइ गरिसकेका छन्। डिआइजीहरू गणेश चन्द, ध्रुवराज राउत र भोला रावल पनि आइजिपी कुवरसँगै बिदा भए। नेपाल प्रहरीको १०८औं ब्याचलाई विशिष्ट ब्याचका रूपमा मानिएको छ। २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट संगठनमा प्रवेश गरेका ५२ जनामध्ये १६ जना विशिष्ट श्रेणीसम्म पुग्न सफल भए। सोही ब्याचका अन्तिम ९ जनाले चैत ४ गते मध्यरातदेखि बर्दी बिसाए। ५२ जना इन्स्पेक्टरमा भर्ना भएकामध्ये नेपाल प्रहरीमा ५० जना र दुईजनालाई विशेष प्रहरीमा भर्ना लिइएको थियो।
यो ब्याचबाट एआइजी अर्थात् विशिष्ट श्रेणीमा पुग्नेहरूमा टेकप्रसाद राई, सन्दीप भण्डारी, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, भरतबहादुर बोहरा, केदार ढकाल, दुर्गा सिंह, कुवेर कडायत, रवीन्द्र केसी र जनक भट्टराई छन्। एआइजीहरू भण्डारी, ज्ञवाली, बज्राचार्य, जोशी, चौधरी, रामदत्त जोशी, राणा, बोहरा, ढकाल र केसीले यसअघि नै अवकाश पाइसकेका छन्।
को हुन् थापा ?
भक्तपुरको सिपाडोलमा २०२८ सालमा जन्मेका थापा २०५२ भदौ १९ गते नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा सेवा प्रवेश गरेका थिए । उनले इन्स्पेक्टर दर्जादेखि एआइजीसम्म २० भन्दा बढी युनिटको नेतृत्व गरिसकेका छन् । नेतृत्व क्षमताका आधारमा सबभन्दा बढी युनिट कमान्ड गर्ने अधिकृतका रूपमा नेपाल प्रहरीभित्र परिचित छन्। एआइजी भएपछि उपत्यका प्रहरी कार्यालयको प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख भई उनले कार्य सम्पादन गरिसकेका छन् । सरकारले आइजिपी नियुक्ति गरेका बखत उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नेतृत्वमा थिए । प्रशासन विभागमा हुँदा उनले कार्यसम्पादनमा उत्कृष्टता हासिल गरेर पुरस्कृतसमेत भएका थिए ।
डिआइजी हुँदा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको प्रबन्ध विभाग प्रमुख भएका उनले एसएसपी हुँदा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए। एसपी हुँदा जिल्ला प्रहरी कार्यालय चितवन र मकवानपुरको प्रमुख, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका बुटवल र कोहलपुर सम्पर्क कार्यालय प्रमुखको जिम्मेवारी निभाएका उनले डिएसपी पदमा जिल्ला प्रहरी कार्यालय खोटाङ र रुकुमको प्रमुख, काठमाडौं प्रहरी वृत्त महाराजगन्ज प्रमुख, रूपन्देही इलाका प्रहरी कार्यालय प्रमुख बन्ने अवसर पाएका थिए। इन्स्पेक्टर हुँदा उनी नेपाल प्रहरी विद्यालयका साँगा (काभ्रे), गरुडा (रौतहट) र धनगढी (कैलाली) समादेशक भएका थिए। ११ वर्ष इन्स्पेक्टर दर्जामा रहँदा थापा २० फरक युनिटको नेतृत्व गरेका अधिकृत हुन्।
द्वन्द्वको समयमा उनले इलाका प्रहरी कार्यालय मैकोट रुकुममा रहेर काम गरे। इलाका प्रहरी कार्यालय कात्तिके देउराली काभ्रेमा पनि थापाले इन्चार्ज भएर काम गरेका थिए। इन्स्पेक्टर हुँदै हेडक्वार्टरको कर्मचारी शाखामा रहेर पनि काम गरेका थिए। अच्युतकृष्ण खरेलले गठन गरेको ‘रामदल’मा पनि काम गरेको अनुभव उनीसँग छ। इन्स्पेक्टरमै रहँदा उनी सुडान मिसन गएका थिए।
त्यसपछि डिएसपीमा बढुवा भएका थापाले जिल्ला प्रहरी कार्यालय खोटाङको दुई वर्षसम्म कमान्ड सम्हालेका थिए। माओवादीका तर्फबाट प्रधानमन्त्री भएका बाबुराम भट्टराईको सुरक्षा गार्डका रूपमा पनि काम गरेको अनुभव बटुलेका उनले इलाका प्रहरी कार्यालय बुटवलमा इन्चार्ज भएर काम गरेका थिए। थापा त्यहाँबाट हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा सरुवा भए। मोरङ, सुनसरी, मकवानपुरमा समेत काम गरेका उनी डिएसपीमै रहँदा लाइबेरिया मिसन गएका थिए।
विभिन्न मुलुकमा गरी १४ स्थानमा उनले सुरक्षा सरोकारका विदेशी तालिम लिएका थिए। त्यसैगरी स्वदेशमा उनले ११ वटा तालिम लिएका छन्। यस्तै सुडान र लाइबेरियामा गरी दुई वटा शान्ति मिसनमा काम गरेका छन्। राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी विभिन्न आठ पदक र सम्मान पाएका छन् भने २१ वटा नगद पुरस्कारसमेत पाएका छन्। थापा व्यापक नेतृत्व अनुभव, कमान्ड कन्ट्रोलको उत्कृष्ट ट्र्याक रेकर्ड तथा प्रहरी संगठनभित्रको प्रभावशाली छवि भएका अधिकृत हुन्। उनले नेतृत्व गरेको सबैजसो युनिटमा महत्वपूर्ण उपलब्धि हासिल भएका छन्।
हाल चर्चामा रहेको नुवाकोटस्थित शेरा दरबार क्षेत्रले ओगटेको एक सय ६४ रोपनी जग्गाको अनुसन्धान एआइजी थापाकै नेतृत्वमा रहेको सिआइबीको टोलीले गरेको थियो। प्रहरीको मानवस्रोत व्यवस्थापन, अपराध अनुसन्धान र विपद् व्यवस्थापनमा उनको विशेष दखल छ। नायब महान्यायाधिवक्ताको संयोजकत्वमा गठित एसिड तथा प्रज्वलनशील पदार्थको नियन्त्रणसम्बन्धी समितिमा प्रहरीका तर्फबाट उनले सदस्यका रूपमा काम गरेका थिए। करिअर डेभलपमेन्ट प्लान र नयाँ भर्ना गर्ने पदहरूको पाठ्यक्रम निर्माण, कल्याणकारी योजना तर्जुमा र कार्यान्वयन, प्रस्तावित प्रहरी ऐन २०७९ को तर्जुमामा प्रहरीका तर्फबाट संयोजकको भूमिका रहेर उनले काम गरेका थिए।
प्रकाशित: ५ चैत्र २०८१ ०६:२० मंगलबार