१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचनमा प्रचारप्रसारको प्रमुख माध्यम टिकटक

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन लागिसकेको छ, मङ्गलबार (हिजो) मनोनयन दर्ता भइसकेको छ भने आगामी चैत ५ गते मतदान हुँदैछ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न आङ्गिक तथा सम्बन्धन क्याम्पसमा उम्मेदवार बनेका विद्यार्थीहरूले मत मागिरहेका छन्। तर, यसपटकको निर्वाचन यसकारण पनि फरक छ कि उम्मेदवारहरूले प्रचारप्रसारको प्रमुख माध्यम टिकटकलाई बनाएका छन्।

टिकटक, जो अहिले प्राय: सबैको पहुँचमा छ। विद्यार्थीहरूको पहुँचमा नहुने त कुरै भएन! हिजोआज प्रत्येक विद्यार्थीसँग एक थान टिकटक ह्यान्डल हुन्छ नै। अझ यसो भनौँ, टिकटक सम्भवत: युवा पुस्ताका माझ सबैभन्दा बढी 'रीच' भएको एक सोसल मिडिया हो। 

यसकारण पनि स्ववियु उम्मेदवारहरूले प्रचारप्रसारको प्रमुख माध्यम टिकटक बनाएको बताउँछिन् अखिल (क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य तथा सङ्गठनको तर्फबाट गोकर्णेश्वर नगरपालिकाको सहयोगी बहुमुखी क्याम्पसकी कमान्डर अस्मिता खत्री।

स्वयम्‌ले टिकटकमार्फत नै धेरै चुनावी प्रचारप्रसार गरिरहेकी खत्रीले नागरिकसँग भनिन्, 'पहिलो कुराचाहिँ टिकटक सबैको पहुँचमा छ। अहिले बरु फेसबूक हुँदैन तर, टिकटक सबैसँग हुन्छ। यो केस अझ विद्यार्थीहरूको सन्दर्भमा लागू हुन्छ। त्यसैले यसपटकको चुनावी प्रचारप्रसार बढी टिकटकमा भए।'

उनले टिकटकबाट प्रचारप्रसार गर्न थालेपछि आफ्नो ह्यान्डल सक्रिय भएको पनि पनि सुनाइन्। 'अगाडि मेरो १० हजार पनि भ्यूज पुग्दैनथ्यो तर, चुनावी प्रचारप्रसार गर्न थालेपछि ३०/४० हजार पुग्छ। यहीँबाटै थाहा हुन्छ कि बढीभन्दा बढी सक्रिय टिकटकमै छौँ र त्यहाँ गरिएका प्रचारप्रसार रुचाइएका छन्,' उनले भनिन्।

झन्डै डेढ दशकपछि भएको अघिल्लो निर्वाचनमा स्ववियु उम्मेदवारहरूले टिकटकलाई त्यति साह्रो प्रचारप्रसारको माध्यम बनाएका थिएनन्। तर, यस पटकको निर्वाचनमा भने उम्मेदवारसँगै विभिन्न सङ्गठनसमर्थित विद्यार्थी (मतदाता) हरूले पनि टिकटकबाटै आफूसम्बद्ध सङ्गठनलाई जिताउन भनिरहेका छन्।

रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको तर्फबाट सदस्य पदको उम्मेदवार बनेकी सूचना भण्डारीले टिकटकबाटै मत मागेकी छन्। उनले टिकटकबाटै चैत ५ गतेको निर्वाचनमा अनेरास्ववियुलाई जिताउन आह्वानसमेत गरेकी छन्।

नेविसङ्घको तर्फबाट कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा सभापतिको उम्मेदवार बनेका मनोज न्यौपानेले पनि टिकटकबाटै प्रचारप्रसार गरेका छन्। उनले टिकटकबाटै आफ्नो प्यानल नै जिताइदिन आह्वान मात्रै गरेका छैनन्, अरु क्याम्पसहरूमा पनि नेविसङ्घका प्यानल र उम्मेदवार जिताउन आग्रह गरेका छन्।

यस्तै अखिल (क्रान्तिकारी) को तर्फबाट धरानको महेन्द्र बहुमुखी क्याम्पसमा कोषाध्यक्षको उम्मेदवार बनेकी कञ्चन ल्वागुनले पनि टिकटकबाटै मत मागेकी छन्। उनले आफ्नो चुनावी अभियानको प्रचारप्रसार टिकटकबाटै गरिरहेकी छन्। 

टिकटकमार्फत गरिएका प्रचारप्रसार।

यी टिकटकबाट प्रचारप्रसार गरिएका केही प्रतिनिधि सन्दर्भ मात्रै हुन्। यसपटक विभिन्न सङ्गठनसमर्थित विद्यार्थीहरूले आफू संलग्न सङ्गठनलाई जिताइदिन टिकटकबाटै आह्वान गरिरहेका छन्।

सान्दर्भिक गीत, भाषण तथा सङ्गीतमा टिकटक बनाएर मतदाता (विद्यार्थी) हरूले भिडिओ सार्वजनिक गरिरहेका छन्। यस्तै स्ववियुका निवर्तमान पदाधिकारी तथा विभिन्न विद्यार्थी सङ्गठनका पदाधिकारीहरूले पनि आफू संलग्न सङ्गठनहरूका लागि टिकटकबाटै मत मागिरहेका छन्।

उसो त परम्परागत सञ्चारमाध्यम र शैलीमा गरिने प्रचारप्रसारभन्दा टिकटकजस्ता नेटवर्कबेस मिडियामार्फत गर्नु सहज मात्रै छैन, खर्चका हिसाबले पनि शुलभ छ। किन पनि भने यसमा प्रचारप्रसारका लागि अत्यधिक समय वा खर्च लाग्ने हुँदैन। यसकारण पनि उम्मेदवारहरूले प्रचारप्रसारका लागि टिकटकजस्ता मिडिया रोजेका हुन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक तथा वरिष्ठ पत्रकार डा. घमराज लुइँटेल भने यसलाई मुख्यत:दुईवटा सन्दर्भसँग जोड्छन्। 'पहिलो चाहिँ यो सहज र शुलभ छ र अर्को चाहिँ सञ्चारको परिवर्तित परिवेश पनि हो,' लुइँटेलले नागरिकसँग भने। 

उनले थपे, 'कुनै बेला गुटेनबर्गको प्रेस थियो। भित्तेलेखन थियो। समय क्रममा नेटवर्क सिस्टम आयो। नेटवर्कबेस मिडियाहरू आए। त्यहाँ त ठूलो नेटवर्क हुन्छ नि, धेरैले हेर्छन्, पढ्छन्। मास मिडियाहरू आए तर, त्यहाँ छाप्न, विज्ञापन गर्न खर्च लाग्ने भयो। तर, यी नेटवर्कबेस मिडियाहरू चाहिँ फ्रीमा उपलब्ध छन्। त्यसैले यो एडप्टेसन भए। यो राम्रो पनि हो।'

अर्कोतर्फ यो प्रचारप्रसारको 'चेन्जिङ ल्यान्डस्केप' भएको डा. लुइँटेल बताउँछन्। 'यो प्रविधिले ल्याएको परिवर्तन हो। कुनै बेला भेटी भेटी मुखले मत माग्नुपर्थ्यो। त्यो पहिलो युग थियो। अहिले त्यसरी माग्न परेन, यसरी पनि मत माग्न सकिन्छ, यो दोस्रो युगको मिडिया हो। यो चाहिँ नेपालको मिडिया प्रचारप्रसारमा चेन्जिङ ल्यान्डस्केप पनि हो।'

प्रकाशित: २८ फाल्गुन २०८१ १९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App