१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

विकल्प राजनीतिमा होइन कर्मचारीतन्त्रमा आवश्यक: जनार्दन

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित समाजवादको बाटो कस्तो हुने भन्ने विषयमा वैचारिक अन्योलता रहेको बताएका छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधबार आयोजना गरेको ‘नयाँ युगको कार्यभारः वैकल्पिक राजनीतिक औचित्य र आधार’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको जनाए।

उनले कर्मचारीतन्त्रले सरकारले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर गरे। उनले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरु पुरानै रहेकाले उनीहरुको बुद्धि विवेकले काम नगरेको आरोप लगाए। उनले सत्तामा पुगेका हरेक नेताहरुलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको दाबी गरे।

‘अबको विकल्प राजनीतिमा नभई कर्मचारीतन्त्रमा चाहिएको छ,’ उनले भने, ‘संविधानले भनेको समाजवादको बाटो तय गर्ने कुरामा वैचारिक अन्योलता छ। पहिलो कुरा प्रष्टै छ कि विकासको मोडालिटी के हो ? बजेट कसरी खर्च गर्ने ? सही गर्नेले सही गर्दैन, कसरी खर्च गर्ने ? सम्भवै छैन।’

उनले  पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालसँग भेटघाटको अनुभव बताउँदै भने, ‘मैले तत्कालीन प्रधानमन्त्री जीहरुलाई भेट्दा टेबुल-टेबुलको शासन छ भनेको थिएँ। तपाईहरु शासन गर्नुस् भनेको थिएँ, तर उहाँहरु शासन गर्नु हुन्न। प्रधानमन्त्रीले गरेपनि एउटा टेबुलको शासन गर्नुहुन्छ, अरु सयौँ टेबुलहरु छन्।’ 

उनले राज्य पुनःसंरचनाको आवश्यकता रहेको बताउँदै भने, ‘हाम्रा राज्य सत्ताका कतिपय अङ्गहरुलाई हामीले यथास्थितिमा राख्यौं। राजनीतिक नेताहरुले गाइड गरेनन्, वा उनको गाइडमा चलेनन्। नेताहरु कस्ले चलायो भने पुरानो ब्युरोकेसीले चलायो। उनीहरुले न भिजन ल्याए, न बुद्धि विवेक ल्याए। समस्या त्यसैमा छ। विकल्प त्यसमा चाहिएको छ।’  

उपमहासचिव शर्माले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिए। उनले वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरुले दिनुपर्ने बताए।

प्रकाशित: २८ फाल्गुन २०८१ १८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App